फेसबुकमा चिनजान, पहिलो भेटमै शंका लागेपछि घाँटी रेटी हत्या


तरुण पत्रिका

१९ मंसिर २०७९, सोमबार २०:०३

काठमाडौं। बैतडीको पञ्चेश्वर गाउँपालिका-४ को फेउलीकी २० वर्षीया माया लुहारको हत्या गरेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवानलाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीले आइतबार महेन्द्रनगरबाट पक्राउ परेका शिवनाथ गाउँपालिका–४ सोल्पलाका २२ वर्षीय भरतराम कोलीलाई सोमबार सार्वजनिक गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय पोखरामा कार्यरत सशस्त्र प्रहरी जवान कोलीले मायाको चक्कु प्रहारबाट हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी प्रेमबहादुर शाहीले अभियुक्तले मृतक माया आफूबाहेक अरुसँग पनि प्रेम सम्बन्धमा रहेको शंका गरेपछि उनीहरुबीच विवाद भएको र सोही कारण हत्या गरेको खुलेको बताए।

हत्याको घटनाबारे अरुले थाहा पाउने आशंकामा मायासँगै रहेकी भतिजी नाता पर्ने १५ वर्षीया नेहा लुहारलाई पनि चक्कु प्रहार गरेको कोलीले बयान दिएको डीएसपी शाहीले बताए। चक्कु प्रहारबाट लुहार घाइते छिन्।

भरतराम र मायाबीच फेसबुकबाट चिनजान भएको थियो। फेसबुकबाट कुराकानी गर्दै जाँदा उनीसँग प्रेम भएको र आफू ७ मंसिरमा घरविदामा आएका बेला भेट भएको कोलीले बताएका छन्। ११ मंसिरमा उनीहरुबीच पञ्चेश्वर गाउँपालिका–४ आमचोरामा भेटेका थिए।

आफूसँग भेटेका बेला फोन आएपछि मायाले नउठाएर गोजीमा हालेपछि भरतले शंका गरेका थिए। को हो भनेर सोध्दा जवाफ नदिएपछि उनले मोवाइल खोसेर आफूसँगै राखेको प्रहरीसमक्ष स्वीकार गरेका छन्। ११ र १२ गते मायाको मोबाइल आफूसँग राखेका कोलीले १३ गते मायालाई मोवाइल लिन शिवनाथ गाउँपालिका–६ को ओल्याओख्डानी ठूलो खोला सामुदायिक वनमा बोलाएका थिए।

उनीसँगै आएकी भतिजी नाता पर्ने नेहालाई अलग्गै राखेर एक्लाएक्लै भेटेपछि विवाद भएको र आफूले हत्या गरेको कोलीले स्वीकार गरेको प्रहरीको भनाइ छ। मायाको हत्यापछि कोलीले भतिजी नेहामाथि पनि चक्कु प्रहार गरेका थिए। नेहाले प्रतिकार गर्दा चक्कु भाँचिएपछि उनी भागेको कोलीले प्रहरीसमक्ष बताएका छन्। नेहाको घाँटीमा चोट लागेको छ।

घटनापछि राति घर गएर सुतेका कोलीले १४ मंसिरमा बसमा चढेर डडेल्धुरा गएको र तीन दिनसम्म बागबजारस्थित एउटा होटलमा बसेका थिए। १७ मंसिरको बिहान मात्र डडेल्धुराबाट अत्तरिया पुगेका उनी १८ गते बिहान महेन्द्रनगर बजार पुगेका थिए। भारत जाने योजनाअनुसार उनी महेन्द्रनगर पुगेका प्रहरीको भनाइ छ।

यो पनि पढ्नुहोस्

माया हत्याका अभियुक्त शसस्त्रका जवानलाई पुर्‍याइयो बैतडी

महेन्द्रनगरबाट समायो माया हत्याका अभियुक्त सशस्त्र प्रहरी

बैतडीमा युवती हत्या प्रकरण : सशस्त्र प्रहरी जवानको नाममा आफन्तले दिए किटानी जाहेरी

Tags :

प्रकाशित: १९ मंसिर २०७९, सोमबार २०:०३