काठमाडौं । तपाइँले जाँडरक्सी र लागुऔषध प्रयोग गरेर गाडी चलाउँदै आउनुभएको छ ? यदि तपाइँले जाँडरक्सी वा लागुऔषध प्रयोग गरेर गाडी चलाउनुहुन्छ भने अब यो कसुर जरिवानाको मात्रै नभएर सार्वजनिक अपराधको मुद्दा समेत बन्नेछ ।
जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउनेलाई प्रहरीले मुद्दा चलाउन थालेको छ । यसअघि कारबाही गरेर मात्रै छोड्ने गरिएको थियो ।
काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा सुरक्षा जाँचका क्रममा स्कुलका बस चलाउने चालकले समेत जाँडरक्सी र लागु पदार्थ खाएको भेटिएपछि प्रहरीले सार्वजनिक अपराधका साथै सम्बन्धित कसुरमा मुद्दा नै चलाउन थालेको छ ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह–प्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीका अनुसार अवस्था हेरेर ट्राफिक प्रहरीले मुद्दा चलाउने गरेको छ । केही दिन अघि मात्रै काठमाडौंको फर्पिङमा ना १ ज ८४६९ नम्बरको जीप चालक काभ्रे पनौतीका ४४ वर्षीय नवराज केसीले जाँडरक्सी खाएर गाडी चलाएको भेटिएको थियो । केसीमाथि प्रहरीले अभद्र व्यवहार गरेको आरोपसहित मुद्दा चलाएको छ ।
यस्तै, लागुऔषध खाएर गाडी चलाएका पाँच जना विरुद्ध पनि लागुऔषध सेवनको कसुरमा पाँच दिन म्याद थप गरेर मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित: २० मंसिर २०७९, मंगलवार ०७:२९