पाँच चिनियाँ जहाज बेच्ने तयारीमा नेपाल एयरलाइन्स

मुल्यांकनका लागि ग्लोबल टेन्डर आहृवान



काठमाडौं। नेपाल एयरलाइन्सले तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड बनाएर राखेको पाँच वटा चिनियाँ जहाज बिक्री गर्ने भएको छ। सो प्रयोजनका लागि नेपाल एयरलाइन्सले मंगलबार जहाजको पूर्ण मूल्यांकनका लागि टेण्डर आह्वान गरेको छ।

निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार पूर्ण मूल्यांकनपछि यी जहाजको मूल्य तय हुन्छ। त्यसपछि ग्लोबल टेन्डर आहृवान गरी यी जहाज बिक्रीको प्रक्रिया सुरु गरिने उनले बताइन्। ‘हामीले सुरुमा भाडामा दिने तयारी गरेका थियौं,’ उनले भनिन्, ‘यसमा कोही पनि इच्छुक नभएपछि जहाज बिक्री गर्ने विकल्पमा तयारी थालेका हौं।’

निगमले यी जहाज २०७७ साउन १५ देखि ग्राउण्डेड गरेको छ। ती जहाज जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा मूल्यांकन गर्न निगमले मंगलबार टेन्डर निकालेको हो। निगमसँग कुल ६ वटा जहाज थिए। जसमध्ये एउटा जहाज भने तीन वर्ष अगाडि नेपालगन्ज विमानस्थलमा दुर्घटनामा परेसँगै उड्नै नसक्ने गरी बिग्रिएको थियो। अन्य ५ वटा जहाज (दुई वटा एमए ६० र ३ वटा वाई १२ ई) जहाजको मूल्य तोक्ने तयारी निगमले गरेको हो।

निगमले यी जहाज आफुले चलाउन नसक्ने भन्दै व्यवस्थापन गर्न सरकारलाई जिम्मा दिएको थियो। तर, सरकारले समेत वेवास्ता गरेपछि निगमले जहाज भाडामा दिने तयारी गरी टेन्डर निकालेको थियो। त्यसमा पनि कुनै पनि पार्टी इच्छुक भएनन्। त्यसपछि भने निगमले मंगलबार यी जहाजको पूर्ण मूल्यांकनका लागि टेण्डर निकालेको हो। यी जहाजको इन्टरनेशन सोसाइटी अफ ट्रान्सपोर्ट एयरक्राफ्ट ट्रेडिङको मापदण्डभित्र रहेर पूर्ण मूल्यांकन गर्न इच्छुक फर्म र कम्पनीबाट निगमले प्रस्ताव मागेको हो। निमगले १५ दिनको समय राखेर यस्तो प्रस्ताव आहृवान गरेको हो।

साना जहाज ल्याएर पहाडी र हिमाली दुर्गम भेगका जनतालाई सेवा दिने उद्देश्यले भित्र्याइएका चिनियाँ जहाजका कारण मात्र मुलुकलाई ८ अर्ब रुपैयाँभन्दा बढी घाटा पुगिसकेको छ।

Tags :

प्रकाशित: २० मंसिर २०७९, मंगलवार १२:५५