काठमाडौं। भूमीहिनका नाममा काठमाडौंका खोला छेउमा बसेकाहरूले असली सुकुमबासीको व्यवस्थापन गरी नक्कलीलाई कारबाही गर्न मेयर बालेन्द्र साहसँग माग राखेका छन्।
नक्कली सुकुमबासीलाई हटाउने महानगरको कार्यमा आफूहरूको ऐक्यबद्धता रहेको भन्दै उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले महानगरसमक्ष ज्ञापनपत्र बुझाएको हो। महानगरको गेटमा पुगेकाहरूले भूमि भएकाहरू कसरी सुकुमबासी हुन्छ ? भनेर प्रश्न गरेका छन्।
मेयर साहसमक्ष बुझाइएको ज्ञापनपत्रमा राजधानी सहरको मुटुमा रहेको थापाथलीस्थित ‘वागमती खोलाको किनारामा रहेको सार्वजनिक/सरकारी जग्गा अतिक्रमण गरी आफूखुशी मनलागी, अस्वाभाविक एवं अनियन्त्रित कथित सुकुमबासीको बसोबासले सँगै रहेको खोलाको प्रदूषण, राजधानीको सौन्दर्यसमेतमा प्रतिकूल असर पारिरहेको’ उल्लेख छ।
अस्तव्यस्त बसोबासले गर्दा अनेक राजनैतिक, सामाजिक, सांस्कृतिक विकृति, विसंगति एवं दिउँसै खुलारूपमा घरेलु हातहतियारको प्रदर्शनी कारण समेतले राजधनी भयावह, असुरक्षित तथा सन्त्रासमय वातावरण उत्पन्न भई स्थानिय जनताहरू प्रति गहिरो मानसिक दबाब उत्पन्न भई अशान्ति फैलिएको ज्ञापनपत्रमा उल्लेख छ।
प्रकाशित: २० मंसिर २०७९, मंगलवार १३:३१