देउवाले शशांकलाई भने-संसदीय दलमा मलाई सघाउनुहोस्


तरुण पत्रिका

२० मंसिर २०७९, मंगलवार १३:५०

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालासँग संसदीय दलमा सघाउन आग्रह गरेका छन्।

बालुवाटारमा मंगलबार भएको भेटका क्रममा कांग्रेस सभापतिसमेत रहेका देउवाले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य कोइरालासँग आफूलाई संसदीय दलको नेतामा सघाउन आग्रह गरेका हुन्। जवाफमा कोइरालाले यसबारे पछि फेरि भेटेर कुराकानी गर्ने जवाफ फर्काएका छन्।

‘बधाई ज्ञापन गर्न हामी बिहान बालुवाटार गएका थियौँ,’ कोइरालाका स्वकीय सचिव भरत तिवारीले भने, ‘शेरबहादुर दाइले मलाई सघाउनु पर्‍यो भन्नुभयो।’ उनले यसबारे प्रधानमन्त्री देउवा र पूर्वमहामन्त्री कोइरालाले फेरि भेटेर छलफल गर्ने बताएको पनि जानकारी दिए। ‘भिडभाड थियो। धेरै कुरा भएन। दुवै जनाले यसबारेमा फेरि छलफल गरौँला भन्नुभएको छ,’ तिवारीले भने।

नवलपरासी बर्दघाट सुस्तापूर्व क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कोइराला पनि दलको नेताका आकांक्षीमध्ये एक हुन्। उनले पनि सार्वजनिक रुपमा आफू प्रधानमन्त्रीको दाबेदार रहेको अभिव्यक्ति दोहोर्‍याइरहेका छन्।

Tags :

प्रकाशित: २० मंसिर २०७९, मंगलवार १३:५०