शुक्रबारदेखि काठमाडौंबासीका घरको धारामा मेलम्चीको पानी



काठमाडौं। मेलम्चीको पानी शुक्रबारदेखि पुन: काठमाडौंबासीका घरको धारामा आउने भएको छ। मेलम्चीको पानी २६ किलोमिटर सुरुङ पार गरेर काठमाडौंको सुन्दरीजलमा आइपुगेसँगै प्रशोधन गरेर शुक्रबारदेखि वितरण प्रणालीमा छोड्न लागिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिए।

मेलम्ची नदीबाट सुरुङमा पानी छाडेको झन्डै एक सातापछि आइतबार सुन्दरीजलमा पानी आइपुगेको थियो। सुरुङ पूर्ण रुपमा नभरिएका कारण तीन दिन सुन्दरीजलको गेट थुनेर सुरुङमा पूर्णरुपमा पानी भर्ने काम भइरहेको कार्यकारी निर्देशक श्रेष्ठले बताए।

उनले भने,‘मेलम्चीको पानी सुन्दरीजल ल्याइसकेका छौँ, अहिले काठमाडौंतर्फको गेट बन्द गरेर सुरुङमा पानी भर्ने काम भइरहेको छ। तीन दिनभित्रमा यो काम सकेर पानी प्रशोधन गरी शुक्रबारबाट काठमाडौंको वितरण प्रणालीमा पानी छोड्दैछौँ। शुक्रबार हामीले वितरण प्रणालीमा पानी छोडेको २ घण्टाभित्र सबै उपभोक्ताको घरमा खानेपानी पुग्नेछ।’

काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने विषयलाई उच्च प्राथमिकता राखेर दिनरात नभनी काम गरेको परिणामस्वरूप काठमाडौंमा पानी आइपुगेको उनले बताए। आउँदो मनसुन सुरु हुनुभन्दा अगाडिसम्म हिँउदभर दैनिक प्रतिसेकेण्ड २ हजार लिटर पानी अर्थात् दैनिक १७ करोड लिटर पानी काठमाडौं आइरहनेछ।

अघिल्लो वर्ष असारमा आएको भीषण बाढी पहिरोले आयोजना स्थलमा क्षति पु-याएपछि गत वैशाखमा अस्थायी बाँध बनाएर १ महिनासम्म काठमाडौंमा पानी वितरण गरिएको थियो। जल तथा मौसम विज्ञान विभागले दिने मनसुन सुरुको सूचना पछि बर्खायामभर पानी बन्द गरिने श्रेष्ठले बताए।

साथै मनसुनको बेला पनि काठमाडौं पानी ल्याउन सक्ने विकल्पको बारेमा पनि अध्ययन भइरहेको उनले बताए।
यस्तै मेलम्ची खानेपानी विकास समिति खारेजको विषयमा सरकार संवेदनशील बन्नुपर्नेमा श्रेष्ठले जोड दिए।

Tags :

प्रकाशित: २० मंसिर २०७९, मंगलवार १५:२६