काठमाडौं। चार मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सकिएको छ। निर्वाचन आयोगका अनुसार आज साँझ प्रत्यक्ष र समानुपातिक दुवैको गणना सकिएको हो। प्रत्यक्षतर्फको गणना हिजै सकिएको थियो भने समानुपातिक गणना भइरहेको थियो।
आयोगका अनुसार कुल १ करोड ५ लाख ६० हजार ६७ समानुपातिक मत सदर भएको छ। सबैभन्दा धेरै मत नेकपा एमालेले पाएको छ। २८ लाख ४५ हजार ६४१ मत पाएर एमाले पहिलो बनेको छ।
दोस्रोमा रहेको नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ। नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत पाएको छ।
चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत पाएको छ।
जनता समाजवादी पार्टी नेपालले चार लाख २१ हजार ३१३ र जनमत पार्टीले तीन लाख ९४ हजार ५६६ मत पाएको छ। सात वटा पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाएका छन्।
नेकपा एकीकृत समाजवादीले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गरेको छ। केही हजार मत नपुगेर नेकपा समाजवादी राष्ट्रिय पार्टी बन्नबाट वञ्चित भएको छ। नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७२२ मत पाएको छ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख ६७ हजार ३६७ मत प्राप्त गरेको छ। बाँकी दलले एक लाखभन्दा कम मत पाएका छन्। कुल सदर मतको ३ प्रतिशतभन्दा बढी मत ल्याउने दलले समानुपातिक सिट पाउँछन्। निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँटसम्बन्धी कानुन संशोधन गर्दै बन्दसूचीबाट नाम पठाउन दलहरुलाई तीन दिनको समय दिने व्यवस्था गरेको छ।
प्रकाशित: २० मंसिर २०७९, मंगलवार १८:१६