काठमाडौं– प्रतिनिधिसभाको समानुपातिक पद्धतितर्फको मत गणना सकिएको छ । समानुपातिक तर्फबाट निर्वाचित हुने ११० सिटमध्ये दलहरुले पाउने सिट संख्या भने करिब टुंगो लागिसकेको छ ।
कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ। समानुपातिक तर्फबाट नेकपा एमाले २८ लाख ४५ हजार ६४१ मतसहित पहिलो दल बनेको छ । जसअनुसार एमालेले ३४ सिट पाउनेछ ।
प्रत्यक्षतर्फ ४४ सिट जितेको एमाले ७८ सांसदसहित प्रतिनिधिसभाको दोस्रो दल बनेको छ । कांग्रेसले २७ लाख १५ हजार २२५ मत पाएको छ र कांग्रेसले ३२ सिट पाएको छ। प्रत्यक्षतर्फ ५७ सिट जितेको कांग्रेस ८९ सांसदका साथ प्रतिनिधिसभाको पहिलो दल बनेको छ ।
माओवादी केन्द्र समानुपातिकमा पनि तेस्रो दल बनेको छ । उसले ११ लाख ७५ हजार ६८४ मत पाएको छ। माओवादीले समानुपातिकबाट १४ सिट पाउनेछ । प्रत्यक्षतर्फ उसले १८ सिट जितेको छ । दुबै जोड्दा उसको ३२ सिट पुग्छ ।
रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जित्दा समानुपाातिकतर्फ ११ लाख ३० हजार ३४४ मत पाएको छ । यसअनुसार उसले १३ सिट पाउने छ ।
अघिल्लो पटक थ्रेस होल्ड कटाउन नसकेको राप्रपाले यो पटक ५ लाख ८८ हजार ३१३ मत पाएको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको उसले समानुपातिकमा पनि ७ सिट नै पाउनेछ र १४ सांसदसहित संसदको पाँचौ दल हुनेछ ।
प्रकाशित: २० मंसिर २०७९, मंगलवार २०:१९