काठमाडौं। संसदको ठुलो दल नेपाली कांग्रेससहितका दलहरूले वर्तमान सत्ता गठबन्धनबाटै नयाँ सरकार गठन हुने बताइरहँदा एमालेले भने ‘पर्ख र हेर’ को नीति अख्तियार गरिरहेको छ।
कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अहिलेको गठबन्धनलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। एमालेले सरकार गठनका लागि कुनै पहल थालेको देखिन्न ।
प्रत्यक्षतर्फ ४४ सिटमा जित निकालेको एमालेले समानुपातिकतर्फ ३४ सिट पाउने पक्का छ। यस हिसाबले एमाले ७८ सिटसहित दोस्रो दल बनेको छ। कांग्रेस प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटसहित पहिलो दल बनेको छ।
यी दुई दलले सरकार गठनको पहल लिनुपर्नेमा कांग्रेसले आफू नेतृत्वको सत्ता गठबन्धन र एमालेबाहेकका दलहरूलाई मिलाएर सरकार गठनको पहल गरिरहेको छ। एमालेले भने देखिनेगरी कतै कुनै पहल गरेको छैन। यस्तेै नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज बुधबार बस्ने भएको छ । केन्द्रीय सचिवालय बैठक अघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
एमाले केन्द्रीय कार्यालय बैठकमा महासचिव लगायत उपमहासचिव र सचिवहरु रहेका छन् । कार्यालय बैठकले पार्टी केन्द्रीय सचिवालयका एजेन्डा तय गर्नेछ । मंसिर ४ को निर्वाचनपछि पहिलो पटक बैठक बस्न लागेको हो ।
निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम सार्वजनिक गरेसँगै एमालेले बैठक बोलाएको हो । बैठकमा समानुपातिकतर्फ बन्द सुचीमा रहेकाबारे छलफल हुनेछ । एमालेले समानुपातिक तर्फ लोकप्रिय सवैभन्दा बढी २८ लाख ४५ हजार ४६१ मत ल्याएको छ भने प्रत्यक्षतर्फ ४४ सिट जितेको छ ।
प्रकाशित: २१ मंसिर २०७९, बुधबार ०९:४९