जिम्मा लिएको काम समयमा सम्पन्न नगर्ने ८ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले जिम्मा लिएको काम समयमा सम्पन्न नगर्ने ८ निर्माण व्यवसायीहरुलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्राचार गर्दा पनि बेवास्ता गरेपछि कार्यालयले आज सात दिने सूचना जारी गर्दै पुनः स्पष्टीकरण माग गरेको छ ।

स्पष्टीकरण मागिएकाहरुमा हेटौंडा–११, मकवानपुरको गुण निर्माण सेवाका गुणराज पाठक, सिरुवा-कविर-सुनकोशी जेभी काठमाडौंका नारायण प्रसाद पराजुली, जानकी टोल पर्साको मुस्कान सप्लायर्सका समसुल हक मियाँ धुनिया र हेटौंडा–६ मकवानपुरको मुक्तिनाथ रुपेश कन्स्ट्रक्सन एण्ड सप्लायर्सका रुपेश घिमिरे छन्।


यसैगरी बानेश्वर–१० काठमाडौंको अनुष्ठान कन्स्ट्रक्सनका रोशन खड्का र रविन्द्र कुमार गौतम, सिरुवा कन्स्ट्रक्सन कम्पनी तिनकुने काठमाडौंका दिनेश पौडेल, दिल्ली ट्रेडिङ वीरगञ्ज पर्साकी रानी कुमारी रौनियार र जय गढीमाई निर्माण कन्स्ट्रक्सन हर्दी चितवनका सिताराम चौधरीसँग पनि लिखित स्पष्टीकरण माग गरिएको छ।


उनीहरुको ठेगानामा लिखित स्पष्टीकरण पेश गर्नू भनेर लेखी पठाउँदा पनि हालसम्म स्पष्टीकरण पेश नगरेकाले सूचना प्रकाशन गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ

।आज मंसिर २१ गतेदेखि सात दिनभित्र पनि लिखित स्पष्टीकरण नबुझाएमा ती निर्माण व्यवसायी तथा सप्लायर्सहरु कालो सूचीमा पर्नेछन् । आफूले जिम्मा लिएको काम समयमा नसकेर ढिलासुस्ती गर्नेहरुलाई कालोसूचीमा राख्ने गरिन्छ।

Tags :

प्रकाशित: २१ मंसिर २०७९, बुधबार ११:१९