निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगका प्रस्तावक पराजित



काठमाडौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगका सबै प्रस्तावक मंसिर ४ गतेको निर्वाचनमा पराजित भएका छन् । महाभियोगमा माओवादी केन्द्रका देव गुरुङ, कांग्रेसकी पुष्पा भुसाल र एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ प्रस्तावक थिए । गुरुङ लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङसँग, भुसाल अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीसँग र श्रेष्ठ काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित भएका छन् ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले निलम्बन कायम रहेकै अवस्थामा एक सातापछि अनिवार्य अवकाश पाउने भएका छन् । ६५ वर्षे उमेर हदका कारण उनले सेवाबाट अनिवार्य अवकाश पाउन लागेका हुन् । सर्वोच्च अदालतका अनुसार २८ मंसिर २०१४ मा जन्मिएका जबरा अबको एक सातापछि ६५ वर्षे उमेर हदका कारण सेवाबाट अनिवार्य अवकाश हुँदै छन् । अघिल्लो संसद्ले जबराविरुद्ध महाभियोगको प्रस्ताव अघि सारे पनि टुंगो लागिसकेको छैन । अब मंसिर ४ गते सम्पन्न निर्वाचनबाट आउने प्रतिनिधिसभाको पहिलो बैठक बस्नुअघि नै जबराले अवकाश पाउने भएका छन् ।

नयाँ संसद्ले अघिल्लो कार्यकालमा दर्ता भएको महाभियोग प्रस्ताव अघि बढाउन मिल्ने वा नमिल्ने भन्नेबारे संविधान र कानुनका जानकारहरूको मत विभाजित छ । सर्वोच्च अदालतमा विचौलियाको रजगज चलाएकोसहितका आरोप लगाएर जबराविरुद्ध संसद्‌मा महाभियोग दर्ता गरिएको थियो । तर, जबराले आफूमाथि लगाइएका सबै आरोप निराधार रहेको दाबी गर्दै आएका छन् ।

प्रकाशित: २१ मंसिर २०७९, बुधबार १२:१२