काठमाडौं। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग प्रस्तावमाथि अब आउने प्रतिनिधि सभामा छलफल हुने बताएका छन्। उनले सो प्रतिनिधि सभामा छलफल भएर मात्रै महाभियोग प्रस्ताव एउटा निर्णयमा पुग्ने बताए। उनले अर्को प्रतिनिधि सभामा छलफल हुने गरी महाभियोग सिफारिस समितिको प्रतिवेदन जीवितै रहेको बताए। ‘यो महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति हो। र यसको छलफल अब आउने प्रतिनिधि सभामा छलफल भएर एउटा निर्णयमा पुग्छ,’ नेपाल सरकारको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा बुधबार उनले भने। राणाविरुद्ध २०७८ फागुन १ गते राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको थियो। उनीमाथि महाभियोग छानबिन समितिले छानबिन गरेर सभामुखलाई प्रतिवेदन बुझाएको भए पनि प्रतिनिधि सभाकै कार्यकाल सकिएपछि महाभियोग प्रस्ताव अगाडि बढेको थिएन। यसबीचमा राणा सर्वोच्च फर्किने प्रयास गरे पनि सफल भएका थिएनन्। तर मंगलबार उनले संसद सचिवालयसमक्ष महाभियोग निष्प्रभावी भएको जानकारी गराइ पाऊँ भनी निवेदन दिएका हुन्। उनीमाथिको निलम्बन निष्प्रभावी भएको भन्दै संसद् सचिवालयले बिहीबार विभिन्न निकायमा पत्रचार गरेको छ।
प्रकाशित: २१ मंसिर २०७९, बुधबार १५:११