मधेसको मुद्दामा एक साथ काम गर्न उपेन्द्रलाई सिके राउतको प्रस्ताव



काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेस केन्द्रित दुई दलका अध्यक्षलाई भेटेर मधेसको मुद्दामा मिलेर काम गर्न प्रस्ताव गरेका छन्।

अध्यक्ष राउतले हिजो जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई छुट्टा छुट्टै भेटेर सो प्रस्ताव गरेका हुन्।

सप्तरी २ मा आफूले पराजित गरेका जसपाका अध्यक्ष यादवलाई अध्यक्ष राउतले उनकै निवासमा हिजो साँझ भेट्न गएका थिए। सो भेटमा अध्यक्ष यादवले राउतलाई जितको उपलक्ष्यमा बधाई तथा शुभकामना दिँदै मधेसको मुद्दामा प्रतिवद्ध भएर काम गर्न सुझाव दिएको बताइन्छ।

सोही क्रममा अध्यक्ष राउतले मिलेर मधेसको हितमा काम गर्न अध्यक्ष यादव समक्ष प्रस्ताव गरेको सो पार्टीका महासचिव चन्दन सिंहले बताए । एक अर्काको सहयोगले मात्र मधेसको मुक्ति सम्भव रहेको कुरा अध्यक्ष राउतले राखेको र त्यसमा अध्यक्ष यादव पनि सकारात्मक रहेको उनले बताए । अध्यक्ष यादवले पनि मधेसलगायत उत्पीडनमा परेका समुदायका लागि मिलेर काम गर्ने प्रतिवद्धता जनाएको उनले बताए ।

लोसपाका अध्यक्ष ठाकुर समक्ष पनि अध्यक्ष राउतले यहीं प्रस्ताव लिएर गएका थिए । अध्यक्ष ठाकुर पनि महोत्तरी ३ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव जितेका छन् । दुवैजनाले एक अर्कालाई बधाई दिनुको साथै शुभकामना साटासाट गरेका थिए ।

अध्यक्ष ठाकुरले मधेसको लागि थुप्रै काम गर्न बाँकी रहेको र त्यसका लागि मिलेर काम गर्नुपर्ने धारणा राखेका थिए । त्यसमा अध्यक्ष राउतले पनि आफू सबै दलसँग मिलेर काम गर्न चाहेको र त्यसमा एक अर्काको सहयोग आवश्यक रहेको धारणा राखेको बताइन्छ ।

हिजो नै अध्यक्ष राउतले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेका थिए ।

Tags :

प्रकाशित: २२ मंसिर २०७९, बिहीबार १०:१७