हत्या आरोपमा वर्तमान र निवर्तमान वडाध्यक्ष पक्राउ



काठमाडौं। दार्चुलाको ब्याँस गाउँपालिका- ४ डोकटका ४० वर्षीय नरसिंह विष्टको हत्या प्रकरणमा वर्तमान र निवर्तमान दुई वडाध्यक्ष पक्राउ परेका छन्।

मङ्सिर ३ गते रातिदेखि बेपत्ता भएर अर्को दिन हत्या गरिएको अवस्थामा फेला परेका बिस्टको घटनामा अनुसन्धान गर्न प्रहरीले गाउँपालिकाका वर्तमान वडाध्यक्ष, पूर्व वडाध्यक्षसहित थप एक जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार वर्तमान वडाध्यक्ष ४३ वर्षीय झुनसिंह विष्ट, पूर्व वडाध्यक्ष ५५ वर्षीय संग्रामसिंह विष्ट र ४३ वर्षीय स्थानीय मोहनसिंह विष्टलाई नियन्त्रणमा लिएको हो। बुधबार उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछका लागि ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

विष्टको शरीरमा चोटपटक लागेको थियो। जिल्ला सदरमुकाम खलंगाको महाकाली नगरपालिका–४ स्थित होटेल चलाउँदै आएका विष्ट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न मङ्सिर ३ गते दिउँसो खलङ्गाबाट घर गएका थिए। घटना लगत्तै प्रहरीले सोही सोही ठाउँका २५ वर्षीय दीपक विष्टलाई पक्राउ गरेको थियो।

प्रहरीसँग उनले आफू घटनामा संलग्न रहेको बयान दिएका थिए। घटनामा दोषि पुष्टि गर्दै प्रहरीले मङ्सिर १२ गते प्रहरीले दिपकलाई सार्वजनिक गरेको थियो। दिपकले मङ्सिर ३ गते राति १० बजेतिर गाउँपालिकाको वडा नम्बर ४ डोबस्थित दार्चुला–तिंकर सडक खण्डमा नरसिंह विष्ट भेट भएको र आफूले मादक पदार्थ सेवन गरेको अवस्थामा विवाद भएपछि उनको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरेको प्रहरीलाई बताएका थिए।

घटनामा एक जना दोषी पुष्टि हुँदा पनि प्रहरीले घटनाको अनुसन्धान सकेको छैन। यस विषयमा थप अनुसन्धान आवश्यक रहेको हुँदा थप निवर्तमान र वर्तमान वडाध्यक्ष सहित थप तीन जनालाई पक्राउ गरेको जनाएको छ।

Tags :

प्रकाशित: २२ मंसिर २०७९, बिहीबार १०:४०