समानुपातिक सांसद छान्न एमालेले बोलायो सचिवालय बैठक


तरुण पत्रिका

२२ मंसिर २०७९, बिहीबार ११:२७

काठमाडौं। समानुपातिक सांसदको निर्णय गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। निर्वाचन आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै एमालेले सचिवालय बैठक बोलाएको हो। एमालेले समानुपातिकतर्फ पाएको मतका आधारमा ३४ सांसद निर्वाचित हुनेछन्।

बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाएको उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। निर्वाचन आयोगले ३ दिनको समय दिएर बन्दसूचीमा रहेका नामहरू मध्येबाट क्लस्टर मिलाएर पार्टीले प्राप्त गरेको सिटमा नाम पठाउन बुधबार बेलुका पत्र पठाएको हो।

आयोगको पत्रअनुसार समानुपातिक सूचीमा राखेका ११० नाम मध्येबाट ५ क्लस्टरमा नामहरू छुट्याएर पार्टीको निर्णयसहित निर्वाचन आयोगलाई पठाउनुपर्नेछ। त्यसका आधारमा आयोगले समानुपातिक सांसद निर्वाचित भएको घोषणा गर्नेछ। समानुपातिकमा छानिने ३४ जनामध्ये एमालेले बन्दसूचीमा रहेकाबाट १९ जना महिला पठाउनुपर्ने छ।

Tags :

प्रकाशित: २२ मंसिर २०७९, बिहीबार ११:२७