पाल्पामा बिहे भोज खाएर बिरामी परेकामा आउँको किटाणु भेटियो



काठमाडौं। पाल्पाको चिर्तुङधारामा बिहे भोज खाएर बिरामी परेका धेरैजसोमा आउँ रोगका किटाणु देखिएको छ। मिसन अस्पतालमा उपचार गर्न गएका बिरामीहरूको दिसा जाँच गराउँदा रिपोर्टमा आउँका किटाणु देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल र पाल्पाको बगनासकाली गाउँपालिकाका स्वास्थ्यकर्मीले बुधबार अधिकांशको रिपोर्टमा आउँको किटाणु देखिएको बताएका हुन् । बिहेभोज खाएपछि बिरामी परेका पाल्पा चिर्तुङधारा घोरबन्दाका बिरामीको बुधबार पनि घरघरमा पुगेर उपचार गर्ने क्रममा यस्तो देखिएको बगनासकाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिए ।

मंगलबार मिसन अस्पतालका डा. सञ्जीव रावल, बगनासकाली गाउँपालिकाका ११ जना स्वास्थ्यकर्मी, स्वयंसेविका लगायतले सेवा दिएका थिए । बुधबार पुनः लुम्बिनी प्रादेशिक अस्पतालका डा. विवेश खनाल, मेडिटेल अस्पतालबाट स्वास्थ्यकर्मीहरू विष्णुप्रसाद पाण्डेय, बैकुण्ठ पौडेल लगायतको टोलीले सघाएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताइन् ।

बिरामीमध्ये कतिपयलाई सुधार आएपनि केहीमा पुनः समस्या देखिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका डा. खनालका अनुसार दिसा जाँच गर्दा आउँको किटाणु फेला परेको छ । तीन दिन अघिदेखि स्वास्थ्यकर्मीले बिरामीको उपचारका लागि घरघरमा पुगेर सेवा दिइरहेका छन् । स्लाइन पानी चढाउने, औषधि, जीवनजल वितरण, स्वास्थ्य, सरसफाइसम्बन्धी जानकारी गराइएको चिर्तुङधारा स्वास्थ्यचौकीका प्रमुख नोदप्रसाद बस्यालले बताए । सामान्य अवस्थाका बाहेक अधिकांशमा पेट दुख्ने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या कायमै भएकाले बुधबार बिहानदेखि थप स्वास्थ्यकर्मी र थप औषधिसहित टोलबस्तीमा खटिएको उनले बताए ।

बगनासकाली गाउँपालिकाका–१, चिर्तुङधाराको घोरबन्दा क्षेत्रका झन्डै सय घरपरिवारका १ सय ५० जना तीन दिनयता बिरामी परेका छन् । निम्तो मान्न आएका छिमेकी गाउँ र प्यूठानबाट आएका ४५ जना जन्ती पनि बिरामी परेका थिए । स्वास्थ्य कार्यालयले के खाएर फुड पोइजन भयो भन्ने पत्ता नलागेको र पानी जाँचका लागि नमुना संकलन गरेको जनाएको छ ।

Tags :

प्रकाशित: २२ मंसिर २०७९, बिहीबार १२:१८