पश्चिम सेती जलविद्युत् र पञ्चेश्वर परियोजना अब अघि बढ्छ : देउवा


तरुण पत्रिका

२२ मंसिर २०७९, बिहीबार १७:४९

धनगढी। प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् र पञ्चेश्वर परियोजना अब अघि बढ्ने बताएका छन्। देउवाले पश्चिम सेती परियोजना निर्माणका लागि भारतीय कम्पनीसँग सम्झौता भइसकेको बताउँदै अब सुदूरपश्चिम छिट्टै समृद्ध हुने विश्वास व्यक्त गरे ।

कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै देउवाले पश्चिम सेतीसँगै पञ्चेश्वर परियोजना पनि निर्माण भए सुदूरपश्चिमले मुहार फेर्ने बताए।
आयोजकले प्रधानमन्त्री देउवालाई १५ किलोको माला लगाउँदै पश्चिम सेती परियोजना निर्माण, गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा स्तरोन्नति गर्नुपर्ने समेतका १५ बुँदे मागसमेत राखेको थियो। देउवाले उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवले सुदूरपश्चिमको कला, संस्कृतिको प्रवद्र्धनमा उल्लेख्य भूमिका खेल्ने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले विधिवत रुपमा उद्घाटन गरेको सुदूरपश्चिम महोत्सव अगामी पुष २ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

Tags :

प्रकाशित: २२ मंसिर २०७९, बिहीबार १७:४९