भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गयो : प्रधानमन्त्री


तरुण पत्रिका

२३ मंसिर २०७९, शुक्रबार १४:२१

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका छन्।

भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै भ्रष्टाचारको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको बताएका हुन्।


उनले भ्रष्टाचार बिरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको भूमिका र सक्रियता आवश्यक रहेको बताए । प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रणलाई सबैको समन्वयमा अघि बढाउँदै जनमुखी सेवा प्रवाह गर्न जरुरी रहेको बताए।


उनले भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण र निर्मूल गरी स्वच्छ, स्वस्थ, नैतिक र विकसित समाजको निर्माण गर्न सबै एकजुट हुन आवश्यक भएको बताए । समाजको कलंकको रूपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न, भ्रष्टाचारजन्य गतिविधिबाट टाढा रहन र भ्रष्टाचारजन्य कार्यकाबिरुद्धमा आवाज मुखरित गरी सदाचार कायम गर्न आवश्यक भएको पनि बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गरी स्वच्छ, स्वस्थ र विकिसित समाज निर्माण्को लागि हामी सबै प्रतिवद्ध हुन आवश्यक छ।

समाजको कलंकको रुपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न यस्ता गतिविधिबाट टाढै रहन र भ्रष्टाचारजन्य कार्यका बिरुद्ध आवाज मुखरित गरी भ्रष्टाचारका गतिविधिहरुको नियन्त्रणका लागि आवश्यक कार्य गर्नुपर्नेछ । भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानूनमा आवश्यक सुधार गरी अघि बढ्न सरकार प्रतिवद्ध छ।

प्रधानमन्त्री देउवाले भ्रष्टाचारले सार्वजनिक सेवा प्रवाह र विकास व्यवस्थापनका साथै सामाजिक जीवनका सबै क्षेत्रलाई नकारात्मक प्रभाव पार्ने भएकाले भ्रष्टाचार गर्ने मनोवृत्तिमा ठोस सुधार गर्न जरूरी रहेको बताए ।

भ्रष्टाचारबिरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि पारित भएको डिसेम्बर ९ तारिखका दिनलाई हरेक वर्ष विश्वभर नै विभिन्न कार्यक्रम आयोजना गरी भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ ।

Tags :

प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार १४:२१