काठमाडौं। रेशम चौधरीपत्नी रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नेपाल उन्मुक्ति पार्टी ले आफूहरूको माग सम्बोधन भएमात्रै सरकारमा सामेल हुने अडान राखेको छ।
शुक्रबार साँझ बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको अध्यक्ष रञ्जिताले जानकारी दिइन्। ‘माग नै सम्बोधन नभए त सरकारमा सामेल हुनुको अर्थै देखिँदैन नि,’ उनले भनिन्।
सो पार्टीले सुरूदेखि नै जेलमा रहेका रेशम चौधरीलगायतका बन्दीहरू बिनाशर्त छुट्नुपर्ने दोहोर्याउँदै आएको छ। ‘बिनाकसूर राज्य पक्षले थुनुवा बनाएको छ,’ उनले भनिन्, ‘हाम्रो शर्त यही रहनेछ कि— उनीहरूको रिहाइ जरुरी रहनेछ ।’
रेशमसहितका नेताहरूलाई कारागारमुक्त बनाइए मात्रै आफूहरू समृद्ध नेपाल निर्माणको अभियानमा सरिक हुने सो पार्टीको अडान छ।
प्रतिनिधि सभामा प्रत्यक्षतर्फ तीन सिट जितेको नागरिक उन्मुक्तिलाई ठूला दलहरूले सरकारमा सहभागी हुनका लागि प्रस्ताव गरिरहेका छन्। तपाईंहरूलाई कसैले सरकारमा सहभागी हुनका लागि प्रस्ताव ल्याएका छन् र ? भन्ने जिज्ञासामा पार्टीका महासचि रतन थापाले भने, ‘दुईतिरबाट आइरहेको छ। हामीले जवाफ दिइसकेका छैनौँ।’
प्रकाशित: २४ मंसिर २०७९, शनिबार ११:१८