काठमाडौं । समानुपातिक सांसद छान्न कांग्रेस पदाधिकारी बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक बस्न लागेको हो।
कांग्रेसमा पुरुषतर्फको तीन सांसद छान्न समस्या परेको छ। तर, बालुवाटार बैठकमा समानुपातिक सांसदमा आकांक्षी राखेका नेताहरूलाई सहभागी नगराउने भएको छ।
आकांक्षीहरु सहभागी गराउँदा निर्णय लिन समस्या परेपछि आकांक्षीलाई बाहिर राखेर निर्णय गर्न लागेको हो।
कांग्रेसको समानुपातिकतर्फको बन्दसूचीमा खस आर्य समूहको पहिलो नम्बरमा डा. प्रकाशशरण महत, आदिवासी जनजाति समूहको पहिलो नम्बरमा गोपालमान श्रेष्ठ र मधेसी समूहका पहिलो नम्बरमा विमलेन्द्र निधि रहेका छन् ।
तर, श्रेष्ठको ठाउँमा सहमहामन्त्री जीवन परियारलाई ल्याउन संस्थापनइतर पक्षले दबाब दिएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सांसदको टुंगो लगाउन नसकेको हो।
पार्टी पदाधिकारी र आवश्यकता अनुसार कार्यसम्पादन समिति सदस्यसँगको छलफलपछि सभापति शेरबहादुर देउवाले समानुपातिक सांसदको टुंगो लगाउने प्रवक्ता प्रकाशशरण महतले बताए।
उनले भने, ‘सभापतिले अब सबैको सुझावलाई लिएर निर्णय गर्नुहुन्छ। सुझावको आधारमा टुंगो लगाएर आजै जान्छ।’
संघ र प्रदेशको गरेर केही मात्रै सीट टुंगाउन बाँकी रहेको बताए। उनले सांसदको टुंगो लगाउने अधिकार देउवालाई दिएको बताए।
कांग्रेसले समानुपातिकमा ३२ सिट पाएको छ । ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने भएकाले पुरुषमा ३ जनाको मात्रै कोटा छ ।
परियारसहित विमलेन्द्र निधि र प्रकाशशरण महत समानुपातिकमा पर्ने देखिएको छ।
प्रकाशित: २४ मंसिर २०७९, शनिबार १४:२०