पोर्चुगलका प्रशिक्षकले भने- रोनाल्डोलाई बेन्चमा राख्दा मलाई पछुतो छैन


तरुण पत्रिका

२५ मंसिर २०७९, आईतवार ०७:३१

काठमाडौं। विश्वकप फुटबलको क्वाटरफाइनलमा पोर्चुगल मोरक्कोसँग पराजित हुँदै बाहिरिएपछि अहिले प्रशिक्षक फर्नान्डो सान्तोषको आलोचना भइरहेको छ।

रोनाल्डोलाई पहिलो हाफमा बेन्चमा राखेपछि विश्वभरबाट सान्तोषको आलोचना भइरहेको हो। तर, प्रशिक्षक सन्तोषले भने रोनाल्डोलाई बेन्चमा राख्दा कुनै पछुतो नभएको बताएका छन्।

‘मलाई रोनाल्डोलाई बेन्चमा राख्दा कुनै पछुतो छैन्। किनकि मैले स्विट्जरल्यान्डविरुद्ध निकै राम्रो प्रदर्शन गरेको टिमलाई दोहोर्‍याएको थिएँ। त्यसैले त्यहाँ परिवर्तन जरुरी थिएन्,’ सान्तोषले पत्रकार सम्मेलनमा भने।

उनले रणनीतिक परिवर्तन सहज नहुने भन्दै मुटुबाट भन्दा पनि दिमागबाट चल्नु पर्ने बताए। उनले रोनाल्डो सधैँ उत्कृष्ट खेलाडी नहुने भन्दै यहाँ भन्दा गर्न नसकिने बताएका थिए।

सान्तोसले हारका कारण टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो र आफू सबैभन्दा बढी दुखी भएको बताए। ‘खेलाडी निकै दुखित छन्। नतिजाले गर्दा निराश छन्। म सम्पूर्ण पोर्चुगल समर्थकलाई धन्यवाद दिन चाहन्छु। म यो पनि भन्न चाहन्छु कि हामी वहाँहरूभन्दा निराश छौं। हाम्रो टोली निकै राम्रो थियो। उत्कृष्ट खेलाडीको सम्मिश्रणले बनेको टोलीबाट पक्कै बढी अपेक्षा थियो। तर आज यो हारले निकै दु:ख लागेको छ।’

उनले आफ्नो भविष्यको बारेमा आगामी साता पोर्चुगल फुटबल संघका अध्यक्षसँगको छलफलपछि निर्णय लिने बताए।

Tags :

प्रकाशित: २५ मंसिर २०७९, आईतवार ०७:३१