काठमाडौं। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा शंकास्पद कारोबार ह्वात्तै बढेको प्रतिवेदन सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकअन्तर्गत वित्तीय जानकारी इकाइले प्रकाशन गरेको वार्षिक प्रतिवेदनअनुसार शंकास्पद कारोबार बढेको हो।
अघिल्लो आर्थिक वर्षको तुलनामा शंकास्पद कारोबारको रिर्पोटिङ ८१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १ हजार ५३३ वटा रिपोर्टिङ भएको थियो। सम्पत्ति शुद्धीकरण निवारण ऐनमा शंकास्पद कारोबार भएको ३ दिनभित्र इकाइमा रिर्पोट गर्नुपर्ने प्रावधान छ।
गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले वित्तीय जानकारी इकाइमा २ हजार ३८० वटा शंकास्पद कारोबारको रिपोर्टिङ गरेका थिए । अघिल्लो वर्ष एक हजार ४०३ वटा शंकास्पद कारोबारको केन्द्रीय बैंकमा रिपोर्टिङ पुगेको थियो। सम्पत्ति शुद्धीकरणको सूचना संकलन र विश्लेषण गर्दै आएको वित्तीय जानकारी इकाइमा २ हजार ७८० वटा शंकास्पद कारोबारको रिपोर्टिङ भएको थियो।
रिर्पोटिङ विकास बैंक, वित्त कम्पनी, लघुवित्त, इन्सुरेन्स, रेमिट्यान्स कम्पनी, धितोपत्र कम्पनी, सहकारी तथा सरकारी निकायले गरेका हुन्। प्रतिवेदनअनुसार सबैभन्दा कम शंकास्पद कारोबार सहकारीमा भएको देखिन्छ।
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुरसँग सम्बन्धित भएको शंका लागेमा वा शंका गर्ने मनासिब आधार भएमा शंकास्पद मान्नुपर्ने सम्पत्ति शुद्धीकरण ऐनमा उल्लेख छ। यद्यपि शंकास्पद कारोबार जति सबै अपराध पुष्टि नहुन पनि सक्छ। सम्पत्तिको स्रोतमा शंका लागेमा त्यस्तो कारोबार शंकास्पद हुन्छ।
प्रकाशित: २५ मंसिर २०७९, आईतवार १३:३८