शारीरिक सम्पर्कको प्रस्ताव राखी ५ करोड माग


तरुण पत्रिका

२५ मंसिर २०७९, आईतवार १५:०२

काठमाडौं। हनि ट्रयापमा संलग्न रहेको आरोपमा प्रहरीले दाङमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक पुरुष र दुई महिला छन्।

घोराही-१० नारायणपुरबाट पुरुष र तुलसीपुरबाट दुई जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा फाँटका इन्सपेक्टर सञ्जिव बेलबाँसेले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा घोराही-१० नारायणपुरका २७ वर्षीय रुद्रबहादुर केसी, तुलसीपुर-१८ ग्वारखोलाकी ३६ वर्षीया कृष्णकुमारी बस्नेत, गढवा-६ घर भई हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने कृष्णि गहतराज छन्।

इन्सपेक्टर बेलबाँसेका अनुसार उनीहरूले तुलसीपुरका एकजना व्यवसायीलाई मेसेन्जर र मोबाइलबाट शारीरिक सम्पर्कको प्रस्ताव राखेको र पछि बलात्कार मुद्दा हाल्ने भनी मोटो रकम ब्ल्याकमेलिङ गरेका थिए।

दाङ प्रहरीका डीएसपी तथा प्रवक्ता राजन गौतमका अनुसार उनीहरूबीचको मोबाइल मेसेज र मेसेन्जरको कुराकानी हेर्दा ५ करोडको बार्गेनिङ गरेको देखिएको र नगद ३० लाख बुझिसकेको बताए। बार्गेनिङ गरे अनुसारको थप पैसा माग्नेक्रममा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पीडित व्यवसायीले आफूलाई यौन सम्पर्कको प्रस्ताव राख्दै ब्ल्याकमेलिङ गर्न खोजेपछि प्रहरीमा जाहेरी दिएका थिए। प्रहरीका अनुसार घटनाको मतियारको रूपमा पक्राउ परेकी अनुष्कासँग दुई वटा नागरिकता रहेको पनि पाइएको छ। तीनजनाविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ।

Tags :

प्रकाशित: २५ मंसिर २०७९, आईतवार १५:०२