काठमाडौं। आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं भन्दै रकम असु३ल गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंको बसपार्क क्षेत्रका होटल र पसलबाट रकम असुल गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको हो। आफूहरू आन्तरिक राजस्व कार्यालय लाजिम्पाटको कर्मचारी भएको भन्दै होटल,रेष्टुरेन्ट र पसलबाट विभिन्न परिणाममा रकम असुल गरेको आरोपमा ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
उनीहरूले बसपार्क क्षेत्रका होटल, रेष्टुरेन्ट, पसल र फुटपाथ पसलबाट समेत गरी ५ लाख रुपैयाँभन्दा बढी रकम असुलेको पाइएको छ। पक्राउ पर्नेमा पूर्वी नवलपरासीका मीनबहादुर बिक, पाँचथरकी सिर्जना भट्टराई, अछामका सागर जंग लुहार, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, अछामकी दूधकला विक, नुवाकोटकी अञ्जना तामाङ र कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए।
उनीहरूले आन्तरिक राजस्व कार्यालयको कर्मचारीले जस्तै पोशाक लगाउनुका साथै परिचय पत्र पनि बोकेका प्रहरीले जनाएको छ। स्थानीय व्यवसायीले शंका लागेर प्रहरीलाई खबर गरेपछि मंसिर २३ गते साँझ प्रहरी वृत्त बालाजुको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका राजीव विष्टको डेराबाट आन्तरिक राजस्व कार्यालयको जस्तै स्टाम्प, लेटरप्याड, रसिद र परिचयपत्र भेटिएको प्रहरीले बताएको छ। त्यस्तै डेविड धामीको कोठाबाट पनि आन्तरिक राजस्व कार्यालयको जस्तै रसिद, लेटरप्याड, परिचयपत्र र परिचयपत्र झुण्याउने डोरी बरामद भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसान्धान अनुसार धामी नै यसको मुख्य योजनाकार रहेको खुलेको बोहोराले बताए। थप कुरा बयानपछि मात्रै खुल्ने उनले जानकारी दिए। उनीहरुविरुद्ध हालसम्म चार जना ब्यवसायीले लिखित जाहेरी दिएको र पीडितहरू आउने क्रम जारी रहेको एसएसपी भरत बोहराले बताए। उनीहरुविरुद्ध ठगी र कीर्तेसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित: २५ मंसिर २०७९, आईतवार १५:२८