काठमाडौं। विश्वकप फुटबलको सेमिफाइनल र फाइनलमा नयाँ बल खेलाइने भएको छ। आयोजक कतारले मंगलबार र बुधबार राति सेमिफाइनल र अर्को साता हुने फाइनल खेलका लागि ‘अल हिल्म’ नामक नयाँ बल सार्वजनिक गरेको हो।
अरबीमा ‘अल हिल्म’ भनेको ‘सपना’ हो। यस अघिका चरणमा आयोजक कतारले ‘अल रिहला’ नाम दिइएको बल खेलाएको थियो। जसको अर्थ ‘यात्रा’ हुन्छ।
उक्त बलमा जस्तै यसमा पनि अत्याधुनिक प्रविधि जडान गरिएको छ। जसका कारण कतार विश्वकपका अफिसियलहरुलाई आधिकारिक निर्णय गर्न एकदमै सजिलो भएको थियो। यसमा विशेष किसिमको सेन्सर जडान भएको छ जसले अफसाइड कतिबेला र कुन खेलाडीको भएको थियो ठीक समयमा देखाउन मद्दत गर्नेछ। यो बल निकै वातावरण मैत्री छ।
बल बनाउन पानीले बनेको मसी र ग्लुमात्रै प्रयोग गरिएको छ। यसको वरिपरि सुनको जलप लगाइएको छ भने सुक्ष्म किसिमको त्रिकोणात्मक ढाँचा राखिएको छ। जसले कतारमा रहेको मरुभूमीको प्रतिनिधित्व गर्छ।
अल हिल्मले विश्वभरका फुटबल समर्थकलाई जोड्ने प्रयास गरेको प्रायोजक एडिडासले बताएको छ।
प्रकाशित: २६ मंसिर २०७९, सोमबार ०७:५४