धनुषामा बञ्चरो प्रहार गरि श्रीमतीको हत्या


तरुण पत्रिका

२६ मंसिर २०७९, सोमबार १२:५९

काठमाडौं। धनुषाको बटेश्वर गाउँपालिका-५ मा मृत भेटिएकी महिलाको हत्या उनकै श्रीमानले गरेको खुलेको छ। वीरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको गएराति धारिलो हतियार प्रयोग गरी हत्या भएको हो।

गम्भीर घाइते अवस्थामा रितालाई श्रीमान् वीरेन्द्रले नै जनकपुरको काव्या अस्पताल पुर्‍याएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको छ। घटना पश्चात प्रहरीले थालेको अनुसन्धानमा श्रीमान वीरेन्द्रले नै बञ्चरो प्रहार गरी हत्या गरेको र बन्चरो आफ्नै बारीमा रहेको पोखरीमा फालेको खुलेको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

त्यसपछि उनी आफैंले श्रीमतीलाई उपचार गर्न भन्दै अस्पताल पुर्‍याएका थिए। श्रीमान माथि नै शंका लागेर सोधपुछ थालेपछि वीरेन्द्रले आफूले नै बञ्चरो प्रहार गरी हत्या गरेको स्वीकार गरेको डिएसपी क्षेत्रीले बताए। हत्यामा प्रयोग भएको बञ्चरो बरामद गरी वीरेन्द्रलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। आइतबार राति ११ बजेको समयमा घरमा सुतिरहेकी रितामाथि सुतेकै ओछ्यानमा धारिलो हतियार प्रहार भएको थियो।

उनका चार र ६ वर्षका दुई छोरा छन्। स्थानीयका अनुसार वीरेन्द्रले श्रीमतीलाई कुटपिट तथा यातना दिँदै आएका थिए। तीन महिना अघि वीरेन्द्रले बिहेमा पाएको फर्निचरसहितका सामानसहित रितालाई उनको माइत (महोत्तरीको भंगहा नगरपालिका ९ अजगेबा) पुर्‍याएका थिए। ससुराली पक्षकाले स्थानीयले भने उनीहरूलाई फर्काएका थिए।

सम्बन्धित समाचार

धारिलो हतियार प्रहार गरि महिलाको हत्या, श्रीमान नै शंकाको घेरामा

Tags :

प्रकाशित: २६ मंसिर २०७९, सोमबार १२:५९