काठमाडौं। निर्वाचन आयोगले नेकपा एमालेलाई समानुपातिक सांसदको नाम छनोटमा पुनः मौका दिने भएको छ। १ नम्बर प्रदेश र मधेश प्रदेशमा क्लस्टर र क्रम नमिलेको भन्दै आयोगले सच्याउन सोमबार ४ बजेसम्मको समय दिएको हो।
तर एमालेले पुरानै सूचीलाई कायम गर्न अयोगलाई पत्राचार गरेपछि नसच्याए सांसद विजयी भएको घोषणा नगर्ने चेतावनी दिएको हो। एमालेले उम्मेदवारको नामावली नेपालको संविधान, प्रचलित कानुन तथा समानुपातिकतर्फको उम्मेदवारको बन्दसूचीको क्रम अनुरूप रहेकाले उक्त पेस गरेको नामावली यथावत् कायम गरिदिन आयोगलाई पत्र पठाएको थियो ।
तर कानुनअनुसार बन्दसूची हेरफेर गर्न नमिल्ने भन्दै आयोगले सच्याउन एमालेलाई पुनः पत्र पठाउने तयारी गरेको हो। ‘क्लस्टर र क्रमभन्दा बाहिर गएर सांसदको नाम छनोट गर्न मिल्दैन। त्रुटि सच्याउन फेरि पत्र पठाउने तयारी छ,’ आयोग स्रोतले भन्यो ।
त्रुटि नसच्याए समानुपातिक सांसद विजयी भएको घोषणा नगर्ने आयोगको निष्कर्ष छ। सोमबार अबेर भएकाले मंगलबार निश्चित समय दिएर एमालेलाई पुनः पत्र पठाउने आयोगको तयारी छ।
एमालेले प्रदेश १ मा आदिवासी जनजाति समूहतर्फको अल्पसङ्ख्यक समूहको प्राथमिकता क्रम नम्बर २ मा समावेश भएको उम्मेदवारको नाम सिफारिस नगरी प्राथमिकता क्रम नम्बर ३ मा समावेश भएको उम्मेदवारको नाम सिफारिस गरेको छ। प्राथमिकता बमोजिम माथिल्लो क्रमको उम्मेदवारको नाम सिफारिस गर्न आयोगले भनेको थियो।
त्यसैगरी, मधेस प्रदेशमा एमालेले अल्पसङ्ख्यक समूहबाट न्यूनतम दुई जनाको नाम सिफारिस हुनुपर्नेमा दलले पेस गरे बमोजिम आयोगबाट स्वीकृत भएको अन्तिम बन्दसूचीमा अल्पसङ्ख्यक समूहमा सूचीकृत एक जनाको नाम मात्र सिफारिस गरेको र अन्तिम बन्दसूचीमा अल्पसङ्ख्यक समूहमा सूचिकृत नभएको उम्मेदवारको नाम अल्पसङ्ख्यक समूहका रूपमा पेस गरेकाले अन्तिम बन्दसूचीमा अल्पसङ्ख्यक समूहको रूपमा सूचिकृत दुई जना उम्मेदवारको नाम सिफारिस गर्न एमालेलाई आयोगले भनेको थियो ।
मधेस प्रदेशमै एमालेले मुस्लिम समूहबाट एक जना सिफारिस गर्नुपर्नेमा प्राथमिकता क्रम नम्बर १ को उम्मेदवारको नाम सिफारिस नगरी प्राथमिकता क्रम नम्बर २ को उम्मेदवारको नाम आएकाले प्राथमिकता क्रम नम्बर १ को महिला उम्मेदवारको नाम सिफारिस गर्न आयोगले भनेको थियो।
प्रकाशित: २७ मंसिर २०७९, मंगलवार ०९:०६