गाउँपालिका महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे


तरुण पत्रिका

२७ मंसिर २०७९, मंगलवार १३:२३

काठमाडौं। गाउँपालिका राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि राजनीतिक दलहरूले भागबन्डा टुंग्याएका छन्। काठमाडौंमा भइरहेको तेस्रो राष्ट्रिय महाधिवेशनबाट चयन हुने नेतृत्वका लागि दलीय प्रतिनिधिका आधारमा पदाधिकारी भागवण्डा गरिएको हो।

स्थानीय तहमा सबैभन्दा धेरै पालिका जितेको नेपाली कांग्रेसले महासंघको अध्यक्ष र उपाध्यक्ष पाउने भएको छ। कांग्रेसले अध्यक्षमा नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेलाई पठाउने भएको छ। उपाध्यक्ष भने टुंगो लगाए नसकेको कांग्रेस निकट स्रोतले बताएको छ।

त्यस्तै दोस्रो ठूलो दल नेकपा एमालले महासचिव, सचिव र ७ जना सदस्य पाउने भएको छ। एमालेले महासचिवमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापालाई पठाउने भएको छ। त्यस्तै सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारलाई पठाउने भएको छ।

सदस्यहरुमा दीलकुमारी लावती (इलाम), सुमन मिरिंपचन (मोरङ), उग्रनारायण यादव (सिरहा), रामकुमार आचार्य (धादिङ), सरस्वती चिदी (पाल्पा), सहनशीला ओली (सल्यान) र दुर्गादत्त ओझा (डोटी) रहने भएका छन्।

कोषाध्यक्ष पाएका नेकपा माओवादी केन्द्रले भने नाम तय गर्न बाँकी रहेको छ गाउँपालिका महासंघ स्रोतले जनाएको छ। गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो पटक महाअधिवेशन भएको हो।

Tags :

प्रकाशित: २७ मंसिर २०७९, मंगलवार १३:२३