छुट्टाछुट्टै सवारी दुर्घटनामा १७ जनाले ज्यान गुमाए



काठमाडौं। देशका विभिन्न स्थानमा भएका दुर्घटनामा १७ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार जाजरकोटको छेडागाड नगरपालिका-४ मा जिप दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ।

छेडेगाड-४ खातिजेवाबाट नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको कर्णाली प्रदेश ०२-०० १ च ०४२९ नम्बरको जिप सोही नगरपालिका-४ भिरबाटीमा अनियन्त्रित भई करिब २ सय मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा जीप चालक दैलेख भगवतीमाई गाउँपालिका-२ बस्ने ३५ वर्षीय मान बहादुर रावत समेत १२ जनाको मृत्यु भएको छ।

उनीहरुमध्ये ११ जनाको घटनास्थलमै र दुर्घटनामा गम्भीर घाइते भएका छेडागाड नगरपालिका-५ बस्ने ४८ वर्षीय जयलाल अधिकारीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो।

काठमाडौं महानगरपालिका-१४ कुलेश्वरमा बा.२ ख ३२२३ नम्बरको माइक्रो बस र बा.९१ प ७४८० नम्बरको मोटरसाइकल एक-आपसमा ठोकिएर सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक नागार्जुन नगरपालिका-४ घर भएका २२ वर्षीय रविन लामाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। माइक्रो बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै ललितपुर महानगरपालिका-१७ बिएण्डबी आकासे पुल नजिक सडकमा बा.१६ प १२२८ नम्बरको मोटरसाइकल बा.२ क १३२५ नम्बरको टिपरमा ठोकिएर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर सूर्यबिनायक नगरपालिका-२ बालकोट बस्ने ६० वर्षीय योगराज सुबेदीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दाङको दंगिशरण गाउँपालिका-३ एकलीमा रा.१ त ४५९३ नम्बरको ट्याक्टरबाट लडेर सोही ट्याक्टरमा काम गर्ने दंगिशरण गाउँपालिका-६ थपगाउँ बस्ने १७ वर्षीय सुदिप चौधरीको मृत्यु भएको छ। ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

यस्तै धनुषाको सहिदनगर नगरपालिका-५ बासुदेपट्टीमा प्र.२-०२-००१ स १११६ नम्बरको अटोबाट लडेर अटोमा सवार जनकपुर उपमहानगरपालिका-१ धर्मवान टोल बस्ने ४० वर्षीया रामतोला देवी साहको मृत्यु भएको छ। लडेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुर हुँदै न्यूरो अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उता रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-६ लोखडियामा लु.१ ख ७४८० नम्बरको ट्रक र लु.७२ प ३५३५ नम्बरको मोटरसाइकललाई सोमबार साँझ दुर्घटना हुँदा चालक मायादेवी गाउँपालिका-४ सुण्डी बस्ने २० वर्षीय रामकरण मुराउको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Tags :

प्रकाशित: २७ मंसिर २०७९, मंगलवार १४:४६