कर्णालीमा माओवादीले समानुपातिकमा छानेका चारै जना नेताकी श्रीमती


तरुण पत्रिका

२७ मंसिर २०७९, मंगलवार १५:२२

काठमाडौं। नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सभाका लागि समानुपातिकतर्फ छानेका चार जना महिला सभासद् नेताका श्रीमती भएको खुलेको छ।

माओवादीले प्रदेश सांसद बनाउन लागेको डोल्पाकी उर्मिला विक, जुम्लाकी यशोदा न्यौपाने, रुकुम पश्चिमकी मिलन खड्का रोका र हुम्लाकी जुम्कित लामा कार्कीको नाम निर्वाचन आयोगमा दिएको छ।

यी चारैजना माओवादी नेताका श्रीमती हुन्। उर्मिला केन्द्रीय सदस्य रामलाल विककी श्रीमती हुन्। यस्तै, पार्टीको कालिकोट संयोजक रहेका लक्ष्मी चौलागाईंकी श्रीमती यशोदा न्यौपाने जुम्लाबाट प्रदेश सांसद बनेकी छन्।

मिलन खड्का रोका रुकुम पश्चिमका माओवादी संयोजक गोविन्द रोका (सचिन)की श्रीमती हुन् भने जुम्कित लामा कार्की हुम्लाको सर्केगाड गाउँपालिकाका माओवादी अध्यक्ष चन्द्रबहादुर कार्कीकी श्रीमती हुन्। चन्द्रबहादुर गाउँपालिका उपाध्यक्षसमेत हुन्।

सशस्त्र युद्धका घाइते, अपांङ्ग, शहीद परिवार तथा लामो समयसम्म योगदान गरेका भन्दा पद र पहुँचका आधारमा श्रीमतीलाई समानुपातिक सांसद बनाइएपछि कर्णालीका माओवादी नेता तथा कार्यकर्ता रुष्ट बनेका छन्।

माओवादी केन्द्रबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बनेका दुईजना पनि कर्णालीका नेताकै आफन्त छन्। उपमहासचिव शक्तिबहादुर बस्नेतकी बहिनी ज्ञानु बस्नेत सुवेदी (चितवन) र उपमहासचिव जनार्दन शर्माकी बहिनी नारायणी शर्मा (दाङ्ग) सामानुपातिक सांसद भएका छन्।

प्रदेशसभामा सल्यानबाट दुईपटक प्रदेशसभामा सिफारिस भएकी एक महिला नेतृ आफ्नो आफन्त नभएका कारणले अहिलेसम्म सांसद बन्न नपाएको बताउँछिन्। प्रतिनिधिसभामामा समानुपातिकमा रिफारिस भएकी सुर्खेतकी हरिमाया शर्माले पनि सांसद बन्न नपाएपछि असन्तुष्टि जनाएकी छन्।

उनी भन्छिन, ‘न समाउने हाङ्गो, न टेक्ने डालो, भएको मान्छेलाई कहीँ छानीहाले भने बर्बाद हुन्छ कि जस्तो लागेको थियो, धन्न छान्नु भएनछ, प्रदेश र संघमा अचम्म सन्तुलित गर्नुभएकोमा कर्णालीका चार टाउकेलाई बधाई छ ।’

Tags :

प्रकाशित: २७ मंसिर २०७९, मंगलवार १५:२२