एमालेले सच्यायो समानुपातिक उम्मेदवारको नाम


तरुण पत्रिका

२७ मंसिर २०७९, मंगलवार १७:०४

काठमाडौं। निर्वाचन आयोगको बारम्बारको ताकेतापछि नेकपा एमालेले अन्ततः समानुपातिकतर्फको नाम सच्याएको छ। एमालेले प्राथमिकता क्रम मिचेर आयोगमा उम्मेदवारको सूची पेश गरेको थियो। त्यसपछि आयोगले एमालेलाई सच्याएर पेश गर्न पत्राचार गरेको थियो। तर, एमालेले सोमबार आफूले पठाएको सूची यथावत रहेको भन्दै जवाफ पेश गरेको थियो।

आयोगले मंगलबार पुनः पत्राचार गर्दै समानुपातिक सांसदको नाममा भएको त्रुटि सच्याउन केही घण्टाको समय दिएको थियो। दोस्रो पटक आयोगले पत्राचार गरेपछि एमालेले नाम सच्याएर पठाएको समानुपातिक निर्वाचन प्रणालीका सहायक निर्वाचन अधिकृत सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए।

आयोगका अनुसार एमालेले प्रदेश नम्बर १ को प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फको बन्दसूचीमा अल्पसंख्यकतर्फ लहरुमाया जिमीको सट्टा अल्पसंख्यकको प्राथमिकताक्रम ८ का यशोदा कायस्थको नाम कायम गर्न पत्राचार गरेको छ।

यस्तै मधेस प्रदेशमा प्राथमिकता क्रम १८ मा रहेका शीला यादवको सट्टा अल्पसंख्यकभित्रको प्राथमिकता क्रम संख्या ८ की राजपतीदेवी जैसलवालको नाम कायम गर्न पत्राचार गरेको छ। मधेस प्रदेशकै प्राथमिकता क्रम ४० मा रहेकी नाजिमा खातुनको सट्टा क्रम संख्या १ का जैनव खातुनको नाम कायम गर्न पत्राचार गरेको छ।

यसअघि एमालेले प्रदेश नम्बर १ मा आदिवासी जनजाति समूहतर्फ अल्पसङ्ख्यक समूहको दोस्रो नम्बरमा समावेश भएको उम्मेदवारको नाम सिफारिस नगरी तेस्रो नम्बरमा समावेश उम्मेदवारको नाम सिफारिस गरेको थियो। पहिलो नम्बरमा रहेको उम्मेदवारको नाम सिफारिस गर्न आयोगले भनेको थियो। तर, एमालेले आयोगको निर्देशनलाई अवज्ञा गर्दै पुरानै नाम पठाएको हो।

त्यसैगरी मधेस प्रदेशमा एमालेले अल्पसङ्ख्यक समूहबाट न्यूनतम दुई जनाको नाम सिफारिस गर्नुपर्नेमा दलले पेस गरेबमोजिम आयोगबाट स्वीकृत अन्तिम बन्दसूचीमा अल्पसङ्ख्यक समूहमा सूचीकृत एक जनाको नाममात्रै सिफारिस गरेको थियो। अन्तिम बन्दसूचीमा अल्पसङ्ख्यक समूहमा सूचीकृत नभएको उम्मेदवारको नाम अल्पसङ्ख्यक समूहका रूपमा पेस गरेकाले अन्तिम बन्दसूचीमा अल्पसङ्ख्यक समूहको रूपमा सूचीकृत दुई जना उम्मेदवारको नाम सिफारिस गर्न एमालेलाई आयोगले निर्देशन दिएको थियो।

सम्बन्धित समाचार

एमालेलाई त्रुटि सच्याउन आयोगले गर्‍यो पुनः पत्राचार

 

Tags :

प्रकाशित: २७ मंसिर २०७९, मंगलवार १७:०४