काठमाडौं। २० वर्षीय एक युवकले विश्वकपलगायतका विभिन्न खेलहरूको सट्टेबाजीमा करोडौंको अवैध कारोबार गरेको खुलासा भएको छ।
महोत्तरी घर भइ हाल ललितपुर महानगरपालिकाबस्ने आदर्श ठाकुरलाई प्रहरीले पक्राउ गरेसँगै यस्तो रहस्य फेला परेको हो।
रसियन बेटिङ एप्लिकेसन एक्स बेटमार्फत खेलको सट्टाबाजी लगाउने कार्यमा उनी एजेन्टको रुपमा सक्रिय रहेको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सानेपाबाट पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाएको जनाइएको छ।
उनले बेटमार्फत सट्टाबाजी गराउन विगत ८ महिनादेखि सट्टेबाजी गर्ने एजेन्टको रुपमा काम गर्दै आएको अनुसन्धानबाट खुल्न आएको छ। यसैगरी रकम संकलन र भुक्तानी गरेको आधारमा कमिसन रकम निर्धारण हुने भएकाले बढी रकम संलकन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा उनले डिजिटल अकाउन्ट खोलेको पाइएको छ।
सो क्रममा उनले विभिन्न व्यक्तिका नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि खरिद गरी सोबाट विभिन्न सेवा प्रदायकको सिमकार्ड समेत खरिद गरेको पाइएको अनुसन्धानबाट खुलेको कार्यालयका प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए।
उनले सट्टेबाजीका क्रममा वालेटमा संकलन गरेको रकम नबिल, सिद्धार्थ र एनआईसी एसिया बैंकको आफ्नो खातामा रकमान्तरण गर्ने गरेको पाइएको छ।
यसरी उनले वालेटबाट २ करोड २८ लाख ४ हजार ४४८ रुपैयाँ रकमान्तर गरेको पाइएको कोइरालाले बताए। हालसम्म अनुसन्धानको क्रममा खुल्न आएका ४८५ वटा विभिन्न सेवा प्रदायहरुका डिजिटल वालेटहरुको कारोबार रोक्का राखी अनुसन्धान भइरहेको पनि कोइरालाले बताए।
प्रकाशित: २७ मंसिर २०७९, मंगलवार १९:१९