मेसीले भने- यो मेरो अन्तिम विश्वकप हो


तरुण पत्रिका

२८ मंसिर २०७९, बुधबार ११:३०

काठमाडौं। अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन्।

पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। फाइनल आइतबार हुनेछ।

दोस्रो सेमिफाइनल मोरक्को र डिफेन्डिङ च्याम्पियन फ्रान्सबीच हुनेछ। क्रोएसियाविरुद्धको खेलमा मेस्सीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। उनले पेनाल्टीमा गोल गर्नुका साथै अल्भारेजको एक गोलमा असिस्ट पनि गरेका थिए।

खेलपछि मेस्सीले भने, ‘विश्वकपमा फाइनल खेलेर आफ्नो यात्रा समाप्त गर्न पाउँदा निकै खुसी छु। यो वास्तवमा निकै सुखद छ। यो विश्वकपमा जे भयो, त्यो निकै भावनात्मक रह्यो। अर्जेन्टिनाका मानिसहरूले यसको कति आनन्द लिनुभयो भनेर हेर्नु पनि निकै सुखद रह्यो। अर्को विश्वकप आउन अझै लामो बाटो छ। म त्यति लामो समयसम्म गर्न सक्छु जस्तो लाग्दैन। यसरी विश्वकपको यात्रा समाप्त गर्नु शानदार हो। ’

३५ वर्षीय मेस्सीको यो पाँचौं विश्वकप हो। मेस्सीको यात्रा अचम्मको छ र उनले हरेक उपलब्धि हासिल गरेका छन्। उनको खातामा विश्वकप मात्र छैन। मेस्सीले यस विश्वकपमा उपाधि जितेर आफ्नो सपना पूरा गर्ने आशा राखेका छन्।

मेस्सीले कीर्तिमानी सात पटक विश्वकै उत्कृष्ट फुटबलरको अवार्ड जितेका छन्। उनले एक पटक फिफाको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड पनि जितेका छन्। उनले चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्। उनले गत वर्ष कोपा अमेरिकाको उपाधि पनि जितेका थिए।

 

Tags :

प्रकाशित: २८ मंसिर २०७९, बुधबार ११:३०