काठमाडौं। धनुषा-४ का नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पुन: मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा असहमति जनाउँदै महेन्द्रले बुधबार सर्वोच्च अदालतमा रिट दिएका हुन्।
सो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित हुँदा महेन्द्र पराजित भएका थिए। उनले दोहोर्याएर मत गन्न माग गरेका हुन्। रिटमा निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा , जिल्ला निर्वाचन कार्यालय धनुषा , प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ।
यादव १२४ मतान्तरले पराजित भएका हुन्। महासेठले ३२ हजार २३६ मत र यादवले ३२ हजार ११२ मत प्राप्त गरेका थिए।
यो रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको छ ।
प्रकाशित: २८ मंसिर २०७९, बुधबार १५:२९