काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले जरिवाना मिनाहाको माग राखेर निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित साहले तोकिएको समयमा खर्च विवरण बुझाएनन्। तोकिएको समय ३० दिनभित्रमा खर्च विवरण नबुझाएको भन्दै आयोगले साहलाई साढे ७ लाख रुपैयाँ जरिवाना तोकेको छ।
उक्त जरिवाना ६ महिनाभित्र नबुझाएमा महानगर प्रमुखको पद नै खारेज हुने भएकाले साहले आयोगमा जरिवाना मिनाहाको निवेदन दिएका हुन्।
आयोगमा खर्च विवरण नबुझाएका बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत भने सार्वजनिक गरिसकेका छन्। प्रमुख शाहले आफू निर्वाचित भएलगत्तै समााजिक सञ्जाल फेसबुकमार्फत आफूले खर्च विवरण सार्वजनिक गरेको र निर्वाचित भएलगत्तै फोहोर व्यवस्थापनमा लागेकाले बुझाउन नपाएको निवेदनमा उल्लेख गरेका छन्।
निर्वाचन कानूनमा भने जरिवाना मिनाहा गर्ने र पुनर्मूल्यांकन गर्ने कानूनी व्यवस्था नरहेको आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताए।
प्रकाशित: २८ मंसिर २०७९, बुधबार १५:५७