काठमाडौं। बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा परालले छोपेको अवस्थामा एक युवकको शव भेटिएको छ। जीतपुरसिमरा उपमहानगरपालिका–१० बस्ने २२ वर्षीय सुरज साह कानुको शव भेटिएको हो।
तारले खुट्टामा बाँधेको र टिसर्टले मुख छोपेको अवस्थामा सुरजको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए। ‘परालको भुसाले छोपेर राखेको अवस्थामा सुरजको शव भेटिएको छ। कर्तव्य गरी मारेर फालेको हुन सक्ने आशंका गरेका छौं’, उनले भने।
काटेको पराल अर्थात भुसाको थुप्रोबाट मृतकको खुट्टा बाहिर देखिएपछि बुधबार दिउँसो स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थल जाँच मुचुल्का गरी शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार प्रहरीले हत्याको घटनामा दुई जनाको संलग्नता हुन सक्ने आशंका गरिएको छ।
उनीहरू मोबाइल स्वीच अफ गरी फरार छन्। शंकास्पद व्यक्तिहरू पक्राउ नपरेसम्म घटनाबारे थप विवरण पत्ता नलाग्ने बताउँदै प्रहरीले उनीहरूको खोजी भइरहेको जनाएको छ।
प्रकाशित: २९ मंसिर २०७९, बिहीबार १५:३०