म्याराडोनालाई आफ्नो भगवान् मान्ने मेस्सीमा विश्वकप उपाधि जित्ने चुनौती


तरुण पत्रिका

१ पुष २०७९, शुक्रबार ०७:०८

काठमाडौ । लियोनेल मेस्सी अर्थात् २१औं शताब्दीका सर्वोत्कृष्ट खेलाडी। उनले दोस्रो पटक आफ्नो नेतृत्वमा टिमलाई विश्वकपको फाइनलमा पुर्‍याएका छन्। पहिलो फाइनल सन् २०१४ मा जर्मनीसँग थप गरिएको अन्तिम समयमा गोल बेहोर्न पुगेपछि पराजित भएको थियो। त्यसैले यस पटक उनलाई अन्तिम मौका छ। १८ डिसेम्बर आइतबार राती ८–४५ बजे लुसेल रंगशालामा अर्जेन्टिनाले उपाधिका लागि साविक विजेता फ्रान्सको सामना गर्दै छ। अर्जेन्टाइन कप्तान मेस्सीले यो खेल आफ्नो विश्वकप करियरको अन्तिम रहेको बताइसकेका छन्। ‘मलाई लाग्छ, आइतबार हुने फाइनल खेल मेरो करियरकै विश्वकपको फाइनल खेल हुनेछ। अर्थात्, अन्तिम खेल हुनेछ। अब यसपछि हुने सन् २०२६ विश्वकपमा म सायदै उपस्थित हुने छैन,’ उनले यसअघि मिडियासँग भनेका थिए। सबै खेलाडीका लागि एउटा विश्वकपको उपाधि र वालोन डीओर जित्ने ठूलो सपना हुन्छ। उनीहरूले आफ्नो करियरमा यसलाई पूरा गर्ने प्रयास गर्छन् तर त्यसमा कोही मात्रै सफल हुन्छन् भने धेरै असफल। मेस्सी करियरको सुरुआत गर्दैगर्दा यी दुई कुरा जित्ने सपना देख्थे। १३ वर्षको उमेरमै अर्जेन्टिनाको रसेल सहरदेखि स्पेनिस क्लब बार्सिलोना आएका मेस्सीले त्यही बेला यसबारे कुरा गरेका थिए।

‘मैले विश्वकै उत्कृष्ट बार्सिलोनाको एकेडेमीबाट करियरको सुरुआत गर्ने मौका पाएको छु। म धेरै खुसी छु, सानै उमेरमा यस्तो राम्रो अवसर पाएको छु। यहाँ आफूलाई विश्वास गरेर राम्रोसँग खेल्न सकें भने पक्कै पनि उच्च स्तरको प्रदर्शन गर्न सक्नेछु। म वालोन डी ओर र विश्वकप पनि जित्न चाहन्छु किनकि यी दुई कुरा सबैभन्दा महत्त्वपूर्ण छन्,’ स्पेनको मिडियासँग त्यतिबेला मेस्सीले भनेका थिए। त्यसको केही वर्षपछि मेस्सीले आफ्नो प्रदर्शनमा व्यापक सुधार गर्दै एकेडेमीबाट सीधै बार्सिलोनाको सिनियर टिममा स्थान बनाए। सन् २००५र६ बाट सिनियर टिममा डेब्यु गरेका उनले सन् २००९ मा २० वर्षको उमेरमा पहिलो वालोन डी ओर जिते। अर्थात्, एउटा सपना पूरा गरे। त्यसपछि सन् २०१२ सम्म लगातार चार वर्ष वालोन डी ओर जितेर सबैभन्दा धेरै अवार्ड जित्ने खेलाडी बने मेस्सी।

वालोन डी ओर, युरोपियन गोल्डेन बुट, फिफा बेस्ट प्लेयर, च्याम्पियन्स लिग, कोपा अमेरिकाजस्ता उपाधि र अवार्ड जितिसकेका मेस्सी फुटबल क्षेत्रका महान् खेलाडी भइसकेका छन्। १८ डिसेम्बरमा साविक विश्वकप विजेता फ्रान्सलाई हराएर अर्जेटिनालाई तेस्रो पटक उपाधि दाबेदार बनाउन चाहन्छन् मेस्सी।
२४ वर्षका मेस्सीले त्यतिबेला चार वालोन डी ओर र दुई च्याम्पियन्स लिग जितिसकेका थिए र आफूलाई विश्व फुटबलको अभिन्न अंगका रुपमा उभ्याइसकेका थिए। अहिले मेस्सी संसारमा सर्वाधिक सात पटक वालोन डी ओर जित्ने एक मात्रै खेलाडी हुन्।

एउटा खेलाडीको रुपमा हेर्दा मेस्सीको जस्तो करियर बनाउनु सबै खेलाडीका लागि एउटा सपना हो। वालोन डी ओर, युरोपियन गोल्डेन बुट, फिफा बेस्ट प्लेयर, च्याम्पियन्स लिग, कोपा अमेरिकाजस्ता उपाधि र अवार्ड जितिसकेका मेस्सी फुटबल क्षेत्रका महान् खेलाडी भइसकेका छन्। तर मेस्सी ती अवार्ड र उपाधिबाट मात्रै सन्तुष्टि छैनन्। सन् २०१६ मा एक स्पेनिस मिडियासँगको अन्तर्वार्ताको क्रममा मेस्सीलाई उनले जितेको पाँच वालोन डी ओर कि एउटा विश्वकप उपाधि भनेर सोधिएको थियो। सोही क्रममा मेस्सीले आफूलाई पाँच वालो डी ओर भन्दा विश्वकप उपाधि नै महत्त्वपूर्ण रहेको जवाफ दिएका थिए। उनले भनेका थिए, ‘मैले धेरै वालोन डी ओर तथा अन्य अवार्ड र उपाधि जितिसकेको छु। तर मलाई एक पटक विश्व विजेता बन्ने सपना छ। वालोन डी ओर जित्ने सपना मैले पूरा गरिसकेको छु। अब म विश्वकप उपाधि जित्न चाहन्छु।’ त्यसैले अब उनको एउटैमात्र सपना थियो–अर्जेन्टिनाको जर्सीमा विश्व विजेता बन्ने।

सन् २००६ को विश्वकपबाट डेब्यु गरेका मेस्सीको पहिलो र दोस्रो संस्करणको प्रतियोगिता सुखद हुन सकेन। त्यसपछि उनको तेस्रो अर्थात् सन् २०१४ को विश्वकप उनका लागि यादगार बन्यो। उत्कृष्ट प्रदर्शनका साथ उनले अर्जेन्टिनालाई फाइनलसम्म पु¥याए। उनी फुटबलमा सबै सपना पूरा गर्ने बाटोमा थिए र उनीसँग त्यो मौका जुरेको थियो। तर यसपटक मेस्सीले त्यो सपनालाई पूरा गर्न सकेनन्। मेस्सीका लागि अन्तर्राष्ट्रिय करियरको सबैभन्दा खराब वर्ष रह्यो, सन् २०१६। लगातार तीन फाइनल –एक विश्वकप र दुई कोपा अमेरिका० मा पराजित भएपछि उनले अर्जेन्टिनाको जर्सीमा संन्यासको घोषणा गरे। आफ्नो विश्व च्याम्पियन बन्ने सपनालाई अधुरै छाडेर लिएको संन्यासलाई चौतर्फी दबाबका कारण उनले फिर्ता गरे।

त्यसपछि सन् २०१८ को रसिया विश्वकप उनलाई बिर्सनलायकै थियो। समूह चरणदेखि नै खराब प्रदर्शन गरेको अर्जेन्टिना अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन पुग्यो। त्यसपछि अर्जेन्टिनाको टिममा व्यापक परिवर्तन भयो। तत्कालीन प्रशिक्षक जर्ज साम्पोलीलाई बर्खास्त गर्दै अर्जेन्टिनाले आफ्ना पूर्वखेलाडी लियोनल स्केलोनीलाई आफ्नो नयाँ प्रशिक्षकका रूपमा नियुक्त ग¥यो। त्यसपछि अर्जेन्टिनाको टिममा सकारात्मक परिवर्तन देखिन थाल्यो।
नयाँ प्रशिक्षकको साथमा टिममा नयाँ पुस्ताका प्रतिभाशाली खेलाडीका साथ अर्जेन्टिनाले सन् २०२१ मा दुई दशकपछि पहिलो सफलताका रुपमा कोपा अमेरिका जित्यो। यो नै मेस्सीको अर्जेन्टिनाको सिनियर करियरमा पहिलो अन्तर्राष्ट्रिय उपाधिसमेत हो। उनले उमेर समूहमा भने फिफा विश्वकप यू–२० को उपाधि र ओलम्पिकमा स्वर्ण पदक जितिसकेका छन्। कतार विश्वकपको मैदानमा उत्रिँदै गर्दा अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन र ३६ अपराजित खेलको उत्कृष्ट लयमा थियो। तर विश्वकपको पहिलो खेलमै तुलनात्मक रुपमा कमजोर टिम साउदी अरबियासँग पराजित भएर आफ्नो अपराजित यात्रालाई ३६ खेलमै टुंग्याउन पुग्यो। तर त्यसपछि अर्जेन्टिनाले प्रतियोगितामा कमब्याक गरेर अपराजित रहँदै फाइनलसम्मकै यात्रा ग¥यो।

अर्जेन्टिनाका महान् फुटबलर स्व। डिएगो म्याराडोना पनि मेस्सीले विश्वकप जितेको हेर्न चाहन्थे। सन् १९८६ मा ह्यान्ड अफ गडका रुपमा अर्जेन्टिनालाई विश्वकप जिताएका म्याराडोना मेस्सीलाई आफूभन्दा पनि महान् मान्थे।

म्याराडोनाले अर्जेन्टाइन मिडियासँग भनेका थिए, ‘मेस्सी वास्तवमै प्रभावशाली खेलाडी हुन्। अर्जेन्टिनाको टिममा उनको धेरै महत्त्व छ। व्यावसायिक फुटबलमा उनले आफूलाई प्रमाणित गरिसकेका छन्। अब उनले एउटा विश्वकप जित्नुपर्छ। उनी जत्तिको खेलाडी एउटा विश्वकपको स्वतः हकदार हुन्। म मेस्सीले विश्वकप जितेको हेर्न चाहन्छु।’

तर हृदयघातका कारण म्याराडोनाको सन् २०२० नोभेम्बर २५ मा निधन भयो। मेस्सीको सदावहार प्रशंसकका रूपमा रहेका म्याराडोनाले मेस्सीले विश्वकपको उपाधि जितेको हेर्न पाएनन्। तर म्याराडोनालाई आफ्नो भगवान् मान्ने मेस्सी यसपटक उनलाई नै समर्पण गरेर विश्वकप उपाधि जित्न चाहन्छन्।

प्रकाशित: १ पुष २०७९, शुक्रबार ०७:०८