भारतले गर्यो ५ हजार किलोमिटरभन्दा बढी मार हान्न सक्ने मिसाइलको सफल परीक्षण



काठमाडौं। भारतले बिहीबार ५ हजार किलोमिटरभन्दा बढी मार हान्न सक्ने आणविक क्षमताको ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको छ।

समाचार एजेन्सी पीटीआईले सम्बन्धित व्यक्तिहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।

पीटीआईका अनुसार यस परीक्षणबाट हतियारका धेरै महत्त्वपूर्ण पक्षबारे अनुसन्धान गर्न सकिन्छ। भारत-चीन सीमामा तनाव भइरहेको बेला ओडिशा नजिकै अब्दुल कलाम टापुबाट यो परीक्षण गरिएको हो। यद्यपी यस परीक्षणको बारेमा अहिलेसम्म कुनै आधिकारिक जानकारी दिइएको छैन।

यसअघि परीक्षण भएका अग्नि-४ को क्षमता चार हजार किमी सम्मको छ भने अग्नि-३ ले ३ हजार किमी सम्म मार गर्न सक्छ।

पछिल्लो दुई वर्षमा भारतले धेरै मिसाइलको सफल परीक्षण गरेको छ। मे महिनामा सुखोई लडाकु विमानबाट ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइल परीक्षण गरिएको थियो।

अप्रिलमा, ब्रह्मोस सुपरसोनिक क्रूज मिसाइलको एन्टी-शिप संस्करण भारतीय नौसेना र अण्डमान र निकोबार कमाण्डले संयुक्त रूपमा परीक्षण गरेको थियो।

Tags :

प्रकाशित: १ पुष २०७९, शुक्रबार १०:४९