काठमाडौं। निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसभित्र भावी प्रधानमन्त्रीलाई लिएर विभिन्न अड्कालबाजी सुरु भएको छ।
सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने दौडमा सबैभन्दा अगाडि छन्। संसदीय दलमा पनि देउवाको स्पष्ट बहुमत छ।
संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापाले आफू प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन्। तर गगन थापालाई रोक्दै संस्थापन इतर समूहबाट डा. शेखर कोइरालामाथि दलको नेता बन्न दबाव बढ्न थालेको छ।
कोइराला समूहका सांसदहरुले गगनलाई नेता स्वीकार गर्न आनाकानी गर्दै संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धा गर्न डा. कोइरालालाई दबाव दिन थालेका हुन्।
अहिले गगनलाई मनाउने प्रयसा भइरहेको छ। संस्थापन पक्षबाट देउवा दलका नेतामा प्रतिस्पर्धा गर्ने निर्बिकल्प नेता हुन्। प्रतिनिधिसभामा ८९ सिट जितेर पहिलो दल बनेको कांग्रेसमा दलको नेतामा निर्वाचित हुन ४५ सांसद संख्या आवश्यक हुन्छ।
निर्वाचनमा भोट भाग्ने क्रममा महामन्त्री थापाले आफूलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत गरेका थिए। निर्वाचित भइसकेपछि पनि गगनले आफू संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने र त्यसको तयारीमा जुटिसकेको बताउँदै आएका छन्।
तर इतर समूहभित्र गगनलाई नेता नस्वीकार्ने भन्दै डा. शेखर कोइरालालाई दलको नेतामा प्रतिस्पर्धा गर्न दबाव बढ्न थालेपछि संसदीय दलको निर्वाचनमा प्रतिश्पर्धा गर्ने निचोडामा डा. कोइराला पुगेका हुन्।
‘दलका नेतामा शेखर कोइरालाले प्रतिस्पर्धा गर्ने कुरामा द्विविधा छैन,’ कोइराला निकट स्रोतले भन्यो, ‘महाधिवेशनमा ४५ प्रतिशत मत प्राप्त गरेको हैसियतले पनि दलको नेतामा उहाँले नै प्रतिस्पर्धा गर्नुपर्छ भन्ने विषयमा हाम्रो समूह एकमत छ।’
सोको जानकारी महामन्त्री थापालाई डा. कोइरालाले गराइसकेका छन। तर गगनले संसदमा युवाको संख्या धेरै भएको, जनताले परिवर्तन खोजेको हिसावले आफूलाई दलको नेतामा समर्थन गर्न आग्रह गरेका छन्।
‘अहिले संसदमा युवाको प्रतिनिधित्व धेरै छ, जनताले पनि परिवर्तन खोजेका छन्,’ गगनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सभापतिमा म दाइ (शेखर कोइराला) सहयोग गर्छु, दलको नेतामा मलाइ सहयोग गर्नुपर्याे।’
जवाफमा कोइरालाले आफू साथीहरुले भनेको कुरालाई मान्ने भन्दै साथीहरुले आफूलाई नै दलको नेतामा प्रतिस्पर्धा गर्न सुझाव दिएको बताएका थिए।
स्रोतका अनुसार अहिलेसम्म शेखर समूहमा ३४ जना सांसद खुलेका छन्। यही संख्याले दलको नेतामा चुनाव जितिँदैन भन्ने विषयमा जानकार हुँदा हुँदै पनि कोइरालामाथि दलको नेतामा देउवासँग प्रतिस्पर्धा गर्न दबाव बढिरहेको छ।
अहिले नै कुनै पनि पदमा बार्गेनिङ गर्ने भन्दा पनि आफ्नो समूह जोगाइ राख्नु महत्वपूर्ण हुने भन्दै गगनलाई फकाउने प्रयास भइरहेको स्रोतले भनाइ छ। कांग्रेसले पुस ३ पछि मात्रै संसदीय दलको नेता छान्ने जनाएको छ।
प्रकाशित: १ पुष २०७९, शुक्रबार १२:०८