विभिन्न स्थानमा सवारी दुर्घटनामा परेर चार जनाले ज्यान गुमाए


तरुण पत्रिका

१ पुष २०७९, शुक्रबार १६:०४

काठमाडौं। ट्राफिक प्रहरीले मुलुकका विभन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर चार जनाको मृत्यु भएको जनाएको छ।

काठमाडौं महानगर–९ सिनामंगल कार्गो गेट अगाडि बा५ख ५६२२ नम्बरको बसको ठक्करबाट पैदल यात्री काभ्रे घर भई सिनामंगल बस्ने बस्ने ४२ वर्षीय रामकृष्ण रन्जितकारको शुक्रबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो।

यस्तै, सर्लाही, ब्रह्मपुरी गाउँपालिका–३ स्थित सडकमा ज२त ५२७ नम्बरको ट्रयाक्टरले बीआर ३०भी १६७३ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार महोत्तरी इटहरवाकट्टी–७ का ५७ वर्षीय सुरेन्द्र मण्डलको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। हाल फरार रहेका ट्रयाक्टर चालकको खोजी भइरहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार कास्कीको पोखरा महानगर–२५ हेम्जा हनुमानचोकमा ग२च २६८४ नम्बरको जिप अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोक्किँदा गए राती दुर्घटनामा परेको छ। जिपमा सवार तनहुँ घर भई हाल पोखरा महानगरपालिका–१० शिवचोक बस्ने ३७ वर्षीया वसन्ती मगरको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका म्याग्दी मंगला गाउँपालिका–१ मजुलाका ४७ वर्षीय गजेन्द्र पुनको सोही अस्पतालमा उपचार भइरहेको छ। फरार जिप चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी कञ्चनपुरको वेदकोट नगरपालिका–७ स्थित सडकमा ना७ख ६५२१ नम्बरको बसले साइकललाई शुक्रबार बिहान ठक्कर दिँदा सोही नगरपालिका–७ सिसैयाका २२ वर्षीय कविराज बैजको मृत्यु भएको छ। ठक्कर दिँदा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी बुलेटिनका अनुसार तनहुँको म्याग्दे गाउँपालिका–६ अकलामा ग१ख ५५२५ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। घाइतेमध्ये जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारपछि ८ जना डिस्चार्ज भएका छन् भने थप उपचारका लागि ७ जनालाई पुरानो मेडिकल कलेज भरतपुर चितवन र ७ जनालाई मेट्रोसिटी अस्पताल पोखरा रिफर गरिएको छ। दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Tags :

प्रकाशित: १ पुष २०७९, शुक्रबार १६:०४