काठमाडौं। नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले गैरराजनीतिक पृष्ठभूमिबाट राष्ट्रपति बनाउन खोज्नु अहिलेको सिस्टम अनुरुपको भिजन बिपरित भएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गुरुङले राष्ट्रियताको रक्षा गर्दै मुलुकको रक्षा विचारले गर्ने र बिचारकै आधारमा दलहरु चल्ने भएकाले मुलुकको नेतृत्व गैरराजनीतिक व्यक्तिलाई सुम्पिनु सिस्टम अनुरुपको भिजन नभएको बताएका हुन्।
राजनीतिक पृष्टभूमि, बिचारधारा, सिद्धान्त लगाएको मूल्यमान्यताको आधारमा नै दलका नेताहरुले मुलुक र राज्यका अंगहरुको नेतृत्व गर्न सक्ने उनले बताए। उनले अहिलेको अवस्थामा दलीय प्रणाली र दलका नेताहरुको बिकल्प नरहेको दावी गरे।
गुरुङले राजनीतिक पृष्ठभूमि बाहिरबाट पात्रहरुलाई अघि सार्न खोज्नु राजनीतिक प्रणालीबाटै बिचलन भएको चिन्तनको उपज भएको तर्क गरे। मुलुकमा संकट पैदा भइरहेको अवस्थामा दलका नेताहरुले नै सोच्नुपर्ने उनको भनाइ छ।
महासचिव गुरुङले अहिले दलहरुबीच सहमति र समझदारीको खाँचो रहेकाले एकले अर्कालाई निषेधको बाटोमा जान नहुने बताए। उgले एमालेसंग सरकार गठनका बिषयका कुनै कुरा नभएको स्पष्ट पारे ।
प्रकाशित: १ पुष २०७९, शुक्रबार १६:५२