काठमाडौं। संघीय संसद सचिवालयले निर्वाचन आयोगसँग नवनिर्वाचित जेष्ठ सांसदको जन्ममिति खुल्ने कागजात सहितको विवरण माग गरेको छ।
बिहीबार आयोगले सचिवालयमा बुझाएको नवनिर्वाचित सांसदहरूमध्ये जेष्ठ सदस्य को हो भन्नेमा स्पष्ट उमेर खुल्ने आधार नभएकोले उमेर खुलाएर पठाउन शुक्रबार आयोगलाई पत्राचार गरिएको हो।
सभामुखको निर्वाचन हुनुअघि जेष्ठ सदस्यले बैठक चलाउनुपर्ने भएकोले आयोगसँग सांसदको आधिकारिक उमेर खुल्ने कागजात सहितको विवरण मागिएको सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए।आयोगले विवरण पठाएपछि सो को परीक्षण गर्ने र सपथ ग्रहणको कार्यक्रम राख्ने तयारी रहेको छ।
संसदको अध्यक्षता गर्ने जेष्ठ सांसदको पहिचान खुलेपछि राजनीतिक दलसँग समन्वय गरेर सपथ गराउने दिनको तय गर्ने सहप्रवक्ता धमलाले जानकारी दिए। त्यअघि संसदको जेष्ठ सदस्यले राष्ट्रपतिसँग सपथ गर्नुपर्ने भएकोले त्यसको व्यवस्थापन राष्ट्रपति कार्यालयले गर्नेछ।
संसदको पहिलो बैठक बस्नुअघि राष्ट्रपतिबाट संसदका जेष्ठ सदस्यले सपथ लिएपछि प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नेछन्। सोही क्षण उनले नवनिर्वाचित सांसदहरुलाई सपथ गराउनेछन्। सांसदहरुले सपथ लिएसँगै राजनीतिक दलहरूले संसदीय दलको नेता चयन गर्नेछन्। त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया आरम्भ हुनेछ।
यो पनि पढ्नुहोस्
प्रकाशित: १ पुष २०७९, शुक्रबार १७:०४