तीब्र दबावपछि डा.शेखर उम्मेदवार बन्दै


तरुण पत्रिका

१ पुष २०७९, शुक्रबार १८:५६

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको नेता पदका लागि हुने चुनावमा डा. शेखर कोइराला उम्मेदवार बन्ने भएका छन्। कार्यकर्ता तथा नवनिर्वाचित सांसदहरुको तीब्र दवाबपछि नेता कोइराला उम्मेदवार बन्न लागेका हुन् ।

डा. कोइरालाले उम्मेदवारका रुपमा सांसद्हरुसँग सहयोग माग्न समेत थालिसकेको जानकारी प्राप्त भएको छ ।

कांग्रेस संसदीय दलको नेता पदका लागि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार बन्ने निश्चित जस्तै छ । त्यसैगरी महामन्त्री गगन थापाले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

गगन र शेखर विगतमा एउटै टिममा थिए । सभापति शेरबहादुर नेतृत्वको संस्थापन टिमको विरुद्धमा शेखरकै टिमबाट गगनले महामन्त्री पदको उम्मेदवारी दिएका थिए । तर, संसदीय दलको नेता पदमा उम्मेदवारी दिने घोषणा भने डा. शेखरले भन्दा गगनले पहिले नै गरेका हुन् ।

शेखर नै किन ?

देउवा इतर पक्षबाट डा. शेखर र गगन दुवैजनाको उम्मेदवारी दौड चलिरहेको छ । जानकारहरुका अनुसार यो टिमबाट एकजना सर्वसम्मत उम्मेदवार बनाउने प्रयास पनि सुरु भइसकेको छ । ‘गगन र शेखर जसको पक्षमा धेरै सांसद देखिन्छन्, उही उम्मेदवार बन्ने र अर्काेले छाड्ने विषयमा सहमतिको खोजी भइरहेको छ’ एक नवनिर्वाचित सांसदले बताए । उनका अनुसार शेखर र गगन दुवैजना उम्मेदवार बन्नु भनेको देउवालाई सघाउनु हो । देउवाको राज अन्त्य गर्ने हो भने एकजना मात्र उम्मेदवार बन्नुपर्ने धारणा कांग्रेस संस्थापन इतर पक्षमा व्यापक भएको छ ।

डा. शेखरले भने उम्मेदवारीको मैदान नछाड्ने बताउनुभएको बुझिएको छ । आज बिहान आफ्नो निवासमा कांग्रेसका केही केन्द्रीय सदस्य र सांसदहरुबीच कुराकानी गर्दै डा. शेखरले अब मैदानमा आइसकेको हुनाले उम्मेदवारीबाट व्याक नहुने बताए ।

डा. शेखरको उम्मेदवारीका अनेक कारण भएको बताइएको छ । आफ्नो खेमाको अस्तित्व रक्षा र हैसियत वृद्धिका लागि शेखरले नै उम्मेदवारी दिनुपर्ने भन्दै केही नवनिर्वाचित सांसद र केन्द्रीय सदस्यहरुले लविङ गरिरहेका थिए । उनीहरुको भनाई अनुसार गगनले देउवा इतर खेमाको प्रतिनिधित्व गर्ने ग्यारेन्टी छैन । एक सांसदले भने, ‘गगनजी हिजो अर्कै गुटमा हुनुहुन्थ्यो, पछि हाम्रो खेमामा आउनुभयो, अब कुन खेमामा पुग्नुहुन्छ भन्ने शायद उहाँलाई नै थाहा छैन होला । अनि कसरी उहाँले देउवा विरोधी खेमाको प्रतिनिधित्व गर्न सक्नुहुन्छ ?’

डा. शेखर कोइराला नेतृत्वको गुट ०४७ सालमा बहुदलीय व्यवस्था आए लगत्तै सिर्जना भएको हो । सो खेमाको नेतृत्व विगतमा गिरिजाप्रसाद कोइराला, सुशिल कोइरालाले गर्नुभएको थियो । ‘तीन दशक पुरानो टिमलाई बिना कारण तितरवितर पार्न सकिन्न’– शेखर निकट एक केन्द्रीय सदस्यले भने– ‘हो, गगनजीले पहिले उम्मेदवारी घोषणा गर्नुभएको हो । अरुभन्दा पहिले उम्मेदवारी घोषणा गरेकै आधारमा उहाँलाई समर्थन गर्नुपर्छ भन्ने छैन ।’

शेखरको टिमको भावभूमि र आफ्नो निजी लोकप्रियताको बलमा गगनले महामन्त्री पदमा चुनाव जितेको ती केन्द्रीय सदस्यको धारणा थियो । उनको भनाई छ– ‘जुन खेमाबाट चुनाव जित्नुभयो, त्यो खेमालाई बलियो बनाउन गगनजीले शेखरलाई समर्थन गरेर उम्मेदवारीको मैदानबाट फिर्ता आउनुपर्छ ।’

देउवा इतर खेमाका देशभरीका कार्यकर्तालाई उत्साहित बनाउन, उनीहरुलाई सक्रिय गराउन र एकजुट बनाउन शेखरले उम्मेदवारी दिनैपर्ने धारणा कैयन केन्द्रीय सदस्यहरुले राख्दै आएका थिए ।

तर, गगनले भने पुस्तान्तरणको कुरालाई महत्वसाथ उठाइरहेका छन् । जनस्तरमा पनि गगनको उम्मेदवारीले तरंग ल्याइरहेको छ । अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गरेपछि गगनको उम्मेदवारीको वजन थप बढेको छ । विश्वप्रकाश शर्मा निकट एक केन्द्रीय सदस्यको भनाई छ ‘पुस्तान्तरणको कुरा शेरबहादुरजीमा मात्र लागू हुँदैन, शेखरमा पनि लागू हुन्छ । उहाँले गगनलाई छाडिदिए राम्रो ।’

उता, शेखर निकटहरु भने पुस्तान्तरणको कुरा मान्न तयार छैनन् । कुनै लाभको पद र सरकारमा नबसी डा. शेखरले निरन्तर कांग्रेसको अगुवाई गरिरहेको, कांग्रेसभित्र उत्साह भर्ने र आशा भरोसा जगाउने नेता भएको हुनाले शेखरलाई नै मौका दिनुपर्ने उनीहरुको भनाई छ ।

दोस्रो चरणको खेल

देउवा इतर खेमाबाट एकभन्दा धेरै उम्मेदवार भएको अवस्थामा दुवैको मत बाँडिने निश्चित छ । संसदीय दलको विधान अनुसार दलको नेतामा चुनिन ५१ प्रतिशत सदस्यको समर्थन आवश्यक पर्छ । पहिलो चरणको चुनावमा ५१ प्रतिशत कसैको आएन भने सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवार बीच चुनाव हुन्छ । त्यो अवस्था आयो भने चाहिँ शेखर र गगनले नमिली सुखै नहुने देखिएको छ ।            यो पनि पढ्नुहोस                       संसदीय दलमा देउवासँग कोइराला लड्ने, गगनलाई फकाउने प्रयास जारी

Tags :

प्रकाशित: १ पुष २०७९, शुक्रबार १८:५६