काठमाडौं। कतारमा जारी फिफा विश्वकपमा तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरोक्कोबीच खेल हुँदैछ।
सेमी फाइनलमा पराजित भएका यी दुई राष्ट्रले तेस्रो स्थानका लागि आज खेल्न लागेका हुन्। खेल राति ८:४५ बजे खालिफा स्टेडिएममा हुनेछ।
क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३-० ले पराजित भएपछि मोरोक्कोसँग भेट भएको हो। सेमिफाइनलमा मोरोक्को भने फ्रान्ससँग २-० ले पराजित भएको थियो।
यी दुवै टोलीको समूह चरणमै भेट भएको थियो। उक्त खेल बराबरी गर्दै दुवै टिमले अंक बाँडेका थिए। क्रोएसिया साविकको उपविजेता हो भने मोरोक्को पहिलो पटक सेमिफाइनलसम्म पुगेको राष्ट्र हो।
यो विश्वकपको फाइनल खेल भने आइतबार राति पौने ९ बजे हुनेछ। फाइनलमा साविक विजेता फ्रान्स र पूर्वविजेता अर्जेन्टिना प्रतिस्पर्धा गर्दैछन्।
प्रकाशित: २ पुष २०७९, शनिबार ०७:४९