निर्वाचन आयोगले सबै प्रदेशमा निर्वाचनको अन्तिम परिणाम बुझाउँदै


तरुण पत्रिका

२ पुष २०७९, शनिबार ०८:०३

काठमाडौं। निर्वाचन आयोगले आज सातवटै प्रदेशमा गत मंसिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम परिणाम बुझाउँदै छ। देशभर एकै समय दिउँसो १ बजे प्रदेश प्रमुखलाई निर्वाचन परिणाम बुझाउने कार्यक्रम रहेको आयोगले जनाएको छ।

प्रदेश १ मा प्रदेश प्रमुख पर्शुराम खापुङलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुझाउने कार्यक्रम रहेको छ। प्रदेश प्रमुख समक्ष निर्वाचन परिणाम बुझाएसँगै नयाँ सरकार गठनको प्रकृया शुरु हुने छ। निर्वाचनको अन्तिम परिणामसँगै प्रदेश प्रमुखले राजनीतिक दलहरुलाई बहुमत लिएर आउन आह्वान हुनेछ।

प्रदेश १ मा कुनैपनि दलको बहुमत नरहेकाले राजनीतिक दलहरुले आन्तरिक रुपमा छलफललाई अगाडी बढाएका छन्। ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकिकृत समाजवादीका ४ र जसपाका एक सांसद रहेका छन्। सरकार गठनका लागि ४७ सांसद आवस्यक रहेको छ। सत्तारुढ गठबन्धनमा अहिले ४६ सांसद छन्।

गठबन्धनलाई एक सांसद अपुग रहेको छ। एमालेका ४० सांसद छन्। राप्रपा र जसपाले कसलाई समर्थन गर्ने भन्ने निर्णय गरेका छैनन। सत्तारुढ गठबन्धनलाई जसपाले समर्थन गरे सरकार गठनका लागि आवस्यक संख्या पुग्छ।

संसदको ठुलो दल एमालेलाई राप्रपा र जसपाले समर्थन गरे सरकार गठनका लागि आवस्यक संख्या पुग्छ। सत्ता गठबन्धन आबद्ध दल र एमालेले राप्रपा र जसपासँग छलफलमा रहेको बताएका छन्।

Tags :

प्रकाशित: २ पुष २०७९, शनिबार ०८:०३