भन्सार प्रमुख नै भन्सार छलीमा संलग्न


तरुण पत्रिका

२ पुष २०७९, शनिबार १०:४६

काठमाडौं। कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलाका कार्यालय प्रमुख आफै भन्सार छलीमा संलग्न रहेको पाइएको छ । भारतीय बजारबाट शुक्रबार साँझ आफ्नै सरकारी गाडीमा भन्सार छली गरी एसी ल्याएको अवस्थामा कार्यालय प्रमुख विमल कुमार शाह फेला परेका हुन्।

भन्सार कार्यालयका कार्यालय प्रमुख शाहले भन्सार कार्यालयको सरकारी नम्बर प्लेटको गाडीमा ४ थान एसी ल्याएको अवस्थामा कार्यालय परिसरमै फेला परेका हुन् । कार्यालयको से १ झ ३०२ नम्बरको गाडीमा प्यानासोनिक कम्पनीको ४ थान एसीसहित उनी फेला परेका हुन् ।

दुई देशीय कस्टम बैठकमा सहभागी हुन भारत गएका शाहले त्यहाँबाट एसी लिएर आएका हुन् । भन्सार सम्बन्धी रिपोर्टिङका लागि भन्सार कार्यालय सञ्चारकर्मीहरू पुग्दा कार्यालयमा शाह नभएपछि उनलाई पर्खेर बसेका थिए । उनी आएपछि उनको गाडीमा एसी फेला परेपछि उनलाई जिज्ञासा राख्दा घरायसी प्रयोजनका लागि भारतीय बजारबाट एसी खरिद गरेको स्वीकार गरेका छन् । उनीसँग एसीको बिल समेत भेटिएको छैन ।

उनी कार्यरत भन्सार कार्यालयको कार्य सम्पादनमा पनि निकै गिरावट आएको पाइएको छ । गत आर्थिक वर्षदेखि भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन समेत गर्न सकेको छैन । कार्यालयले लक्ष्यको ५२ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो । चालू आर्थिक वर्षमा १६ करोड ९४ लाख ४२ हजार राजस्व संकलनको लक्ष्य पाएको भन्सार कार्यालयले ५ महिनामा दुई करोड ४७ लाख ८५ हजार मात्रै राजस्व संकलन गर्न सकेको छ ।

Tags :

प्रकाशित: २ पुष २०७९, शनिबार १०:४६