काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीबाट नवनिर्वाचित सांसद (प्रतिनिधिसभा सदस्य) हरूलाई आज सरकारी निवास बालुवाटार बोलाएका छन्।
कांग्रेसमा संसदीय दलको नेता को बन्ने भन्ने चर्चा चलिरहेका बेला नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका देउवाले सबै संघीय सांसदलाई आफ्नो सरकारी निवासमा निम्त्याएका हुन्।
प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार बालुवाटारमा दिउँसो ३ बजेका लागि सांसदहरूको भेला बोलाइएको हो।
यस क्रममा बधाई आदानप्रदान र संसदीय दलको निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।
‘बधाई तथा शुभकामना आदाननप्रदान गर्न सांसदज्यूहरूलाइ बोलाइएको हो’, प्रेस संयोजक परियारले भने।
देउवा आफै संसदीय दलको नेताका लागि चुनाब लड्ने तयारीमा छन्। संस्थापनईतर समूहबाट डां शेखर कोइराला तथा महामन्त्री गगन थापा पनि दलको नेता बन्न चुनाब लड्ने तयारीमा छन्।
प्रकाशित: २ पुष २०७९, शनिबार ११:१२