काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंगलबारभित्र सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी छन् ।
राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका भट्टराईले भने, ‘निर्वाचन आयोगले चुनावी प्रतिवेदन बुझाइसकेको छ, अब राष्ट्रपितज्यूले ढिलो गर्नुहुन्न । सम्भवत: आउँदो मंगलबारभित्र उहाँले नयाँ सरकार गठनको आह्वान गर्नुहुन्छ ।’
संविधानमा निर्वाचन आयोगले चुनावको अन्तिम परिणाम बुझाएको ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने प्रावधान छ ।
नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नेछिन् । उक्त उपधारामा प्रतिनिधि सभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ ।
धारा ७६ को उपधारा १ मा भने प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ ।
तर, प्रतिनिधि सभामा कुनै पनि दलले स्पष्ट बहुमत नल्याएको अवस्थामा राष्ट्रपतिले उपधारा २ अनुसारको सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी हुन् ।
प्रकाशित: २ पुष २०७९, शनिबार १२:०२