काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताएका छन्।
देउवाले नागरिक नजिकको सरकार भएकाले पनि स्थानीय तहको काम कारबाही नागरिकप्रतिनै जवाफदेही हुनुपर्ने प्रस्ट्याएका हुन्।
ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेकाले सोही अनुसारको काम हुनुपर्ने उल्लेख गरे।
प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले जनताको अपेक्षा अनुसार विश्वका अन्य मुलुकमा पनि नेपाल र नेपाली जनताको पहिचान हुने गरी आफ्नो कामलाई अघि बढाएको भन्दै प्रशंसा समेत गरे । उनले ललितपुर महानगरपालिकालाई सांस्कृतिक स्मार्ट सहरको रुपमा विकास हुने गरी काम गर्नुपर्नेमा पनि जोड दिए । प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले नमूना महानगरपालिकाको रुपमा आफूलाई अघि बढाएको बताए।
उनले भने– ‘धार्मिक, सांस्कृतिक, ऐतिहासिक कला नगरी उपत्यकाकै जेठो ललितपुर महानगरपालिकाको १०४ वर्षमा प्रवेश गरेको सुख्द अवसरमा महानगरबासी तथा जनप्रतिनिधिहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । उपत्यकाको पुरानो र मौलिकता बोकेको यो सहर व्यवस्थित र नागरिकको जीवनलाई सहज र गुणस्तरीय बनाउने विविध योजनाहरुसहित अघि बढेको जानकारी पाउँदा मलाई खुसी लागेको छ । नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र सेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको छ । नागरिक नजिकको सरकार भएकाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र परिणाममुखि नागरिक जवाफदेही हुनुपर्दछ । ललितपुर महानगरपालिकाका जनप्रतिनिधिहरूले नागरिकको अपेक्षा अनुसार यस महानगरलाई नमुना महानगरको रुपमा काम गर्ने हिसावले जिम्मेवारपूर्ण ढंगले नागरिकको सेवालाई अघि बढाउनु हुनेछ भन्ने विश्वास लिएको छु । मौलिक कला, संस्कृति र साहित्य महानगरपालिकाका अमूल्य सम्पदा हुन । यस महानगरपालिका भित्र राष्ट्रिय गौरवका प्राचीन सम्पदाहरू नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण धरोहर र वैभव हुन । यस महत्वपूर्ण निधि र सम्पदाको संरक्षण र सम्वद्र्धन गर्दै यस महानगरपालिकालाई मुलुककै सम्पदा र संस्कृतिको केन्द्रको रुपमा विकास गर्न जनप्रतिनिधि र महानगरबासीले एकआपसमा हातेमालो गर्दै अघि बढन आवश्यक छ ।’
उनले भने– ‘ललितपुर महानगरपालिकाले सम्पदाहरूको संरक्षणका लागि गरेका कामहरू प्रशंसनीय छ । निर्माणाधीन सम्पदाहरूको निर्माण कार्य सम्पन्न भएपछि एकातिर पर्यटकहरूको प्रवर्द्धन गर्न सहयोग पुग्नेछ भने अर्कातिर सांस्कृतिक स्मार्ट सिटीको रुपमा विकास गर्न पनि सहयोग पुग्नेछ।
भौगोलिक पूर्वाधारमा मात्रै जोड नदिई नागरिकलाई खुसी बनाउने तथा उनीहरूलाई सांस्कृतिक मूल्य, मान्यता संरक्षण र सम्वद्र्धन गर्दै अघि बढाएको यस महानगरपालिकाका कामहरू उदाहरणीय छन् । आगामी दिनमा पनि यसको निरन्तरताको अपेक्षा गर्दछु । प्राचित सभ्यता र संस्कृतिलाई यथावत् संरक्षण गर्दै नयाँ आधुनिक पूर्वाधार निर्माणले यस महानगरपालिकालाई उपत्यकाकै प्राचीन र आधुनिक शहरको रुपमा विकास गराउनु सबैका लागि अनुकरणीय रहेकोमा दुईमत छैन । भौतिक पूर्वाधारको विकासले वातावरणीय पक्षको आन्तरिकीकरण तथा नागरिक केन्द्रित विकासमा महानगरपालिकाले खेलेको भूमिका अनुकरणीय छ । यहाँ भएको कामले राष्ट्रिय मात्र नभइ अन्तराष्ट्रिय स्तरमा पनि नेपाल र नेपालीको परिचय गराउनु भएको छ ।’
त्यस अवसरमा प्रधानमन्त्री देउवाले नागरिकलाई खुसी बनाउने गरी ललितपुर महानगरपालिकाको सम्पदाहरूको संरक्षण र सम्वर्द्धनको काम भइरहेको भन्दै त्यसलाई निरन्तरता दिएर अघि बढन थप क्रियाशील हुन आग्रह गरे । भौतिक पूर्वाधारहरूको विकास गर्दा नागरिकको जीवनलाई सहज हुनेगरी अघि बढाउन पनि स्थानीय तहका जनप्रतिनिधिहरुले मिलेर काम गर्नुपर्ने उनको भनाई थियो।
प्रकाशित: २ पुष २०७९, शनिबार १३:२६