म अहिले मन्त्री बन्दिनँ, प्रधानमन्त्री भन्दा पनि राष्ट्रपति को बन्ने भन्ने विषय महत्वपूर्ण छः विश्वप्रकाश


तरुण पत्रिका

२ पुष २०७९, शनिबार १९:०८

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूलाई अहिले नै मन्त्री बन्ने चाहना नरहेको पनि बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। शर्माले अहिले प्रधानमन्त्री भन्दा पनि राष्ट्रपति को बन्ने भन्ने विषय महत्वपूर्ण रहेको बताए। उनले अहिले गठबन्धनबाट प्रधानमन्त्री बन्ने भएकाले दुई वर्षलाई मात्र हुने बताए ।

‘अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषय जति महत्वपूर्ण छ, त्यो भन्दा धेरै महत्वपूर्ण विषय राष्ट्रपतिको बारेमा छ । प्रधानमन्त्री को बन्नुहुन्छ? दुई वर्षलाई बन्नुहोला । लुकाउने अवस्थै छैन । हामीले एक्लै विजयी हासिल गरेका होइन, सबै दल हामीसँग छन् । यो गठबन्धन जनताको बीचबाट जे मत लिएर आएको छ । यसलाई एउटा सरकार बन्ने, बनाउने भन्ने नाममा बिथोलिन दिनुहुदैन’ उनले भने ।

तर राष्ट्रपति चयनलाई भने गम्भीरतापूर्वक लिनुपर्ने र सबै दलले सहज रुपमा स्वीकार गर्न सक्ने व्यक्ति चाहिने महामन्त्री शर्माले बताए ।

प्रकाशित: २ पुष २०७९, शनिबार १९:०८